इटहरी — मातृभक्तिको प्रतीकका रुपमा मनाइने माता तिर्थ औँसीको अवसर पारेर इटहरी लेडी जेसिजले इटहरी उपमहानगरपालिका वडा नम्बर १६ मा रहेको रामजानकी मन्दिर वृद्धाश्रमका आमाहरूलाई खाद्यान्न तथा विभिन्न आवश्यक सामग्री वितरण गरेको छ।
समाजमा विशिष्ट योगदान दिएका आमाहरूको सम्मान तथा सेवा भावनाका साथ आयोजना गरिएको कार्यक्रममा वृद्धाश्रममा आश्रित आमाहरूलाई खाना, लत्ताकपडा, चुरा, टीका, कपला, पोते, फलफूल तथा नगद वितरण गरिएको थियो। साथै, आमाहरूको स्वास्थ्य र खुशीलाई ध्यानमा राख्दै पोषणयुक्त खाद्यान्न सामग्री समेत उपलब्ध गराइएको थियो।
कार्यक्रममा इटहरी उपमहानगरपालिका वडा नम्बर १६ की महिला वडा सदस्य खिना खतिवडाले आमाहरूलाई सामग्री हस्तान्तरण गर्दै वृद्धावस्थामा पनि सम्मान र माया पाउने वातावरण निर्माण गर्नु सबैको कर्तव्य रहेको बताउनुभयो। उहाँले इटहरी लेडी जेसिजले सामाजिक सेवामा देखाएको सक्रियताप्रति प्रशंसा व्यक्त गर्नुभयो।
इटहरी लेडी जेसिजकी अध्यक्ष लक्ष्मी बरालले मातातिर्थ औँसीजस्तो भावनात्मक दिनमा वृद्धाश्रमका आमाहरूको सेवा गर्न पाएकोमा संस्थाका तर्फबाट गर्व महसुस भएको बताउनुभयो। उहाँले आगामी दिनहरूमा पनि यस्ता सामाजिक सेवामूलक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रमका संयोजक तथा इटहरी लेडी जेसिजकी उपाध्यक्ष पूजा भट्टराईले वृद्धाश्रमका आमाहरूसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको जीवनमा सकारात्मक ऊर्जा भर्ने प्रयास गरिएको जानकारी दिनुभयो। उहाँले सेवा कार्यलाई संस्थाको मूल उद्देश्यका रूपमा अगाडि बढाइरहेको उल्लेख गर्नुभयो।
रामजानकी मन्दिर वृद्धाश्रमका सञ्चालकहरू, पूर्व अध्यक्षहरू, मानार्थ सदस्यहरू तथा वोडका कार्यसमिति सदस्यहरूको उपस्थितिमा सम्पन्न कार्यक्रममा उपस्थित व्यक्तिहरूले वृद्ध आमाहरूसँग समय बिताउँदै उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए।
कार्यक्रमले वृद्धाश्रमका आमाहरूको अनुहारमा खुशीको चमक ल्याएको सहभागीहरूले बताएका छन्। आमाहरूले पनि यस किसिमको माया र सम्मान पाएर खुशी व्यक्त गरेका थिए।
इटहरी लेडी जेसिजले विगतदेखि नै शिक्षा, स्वास्थ्य, महिला सशक्तीकरण, बालबालिका तथा ज्येष्ठ नागरिकहरूका क्षेत्रमा सामाजिक उत्तरदायित्व पूरा गर्दै विभिन्न सेवा कार्यहरू गर्दै आएको छ।



