इटहरी / काठमाडौँ र पोखरा र कोशी प्रदेशको बिर्तामोड पछी प्रमुख सहर इटहरीमा पनि ‘गाँजा स्टोर’ को शाखा सञ्चालनमा आएको छ। इटहरीको संगीत चोकमा स्थापना गरिएको नयाँ शाखाबाट गाँजाबाट उत्पादन गरिएका विभिन्न सामग्रीहरू बिक्री वितरण सुरु गरिएको सञ्चालक उमेश थाापाले जानकारी दिएका छन्।
‘गाँजा स्टोर’ मा गाँजाको रेशाबाट निर्मित कपडा, झोला, लुगा, जुत्ता, चप्पल, बेल्ट लगायतका सामग्रीहरू सजिलै उपलब्ध छन्। साथै, सौन्दर्य सामग्री, तेल, साबुन लगायतका गाँजाबाट तयार पारिएका उत्पादनहरू पनि उपभोक्तालाई उपलब्ध गराइएको छ।
स्वदेशी उत्पादनलाई प्रवर्धन गर्ने मुख्य उद्देश्यका साथ स्टोरको स्थापना गरिएको सञ्चालक थापा बताउँछन्। उनका अनुसार, इटहरी शाखामा धरान, विराटनगर, धनकुटा लगायत आसपासका सहरबाट समेत ग्राहकहरू सामग्री खरिद गर्न आउने क्रम बढ्दो छ, जसले आगामी दिनमा बजार विस्तार र सम्भावनालाई थप बल दिने विश्वास दिलाएको छ।
"हाम्रो स्टोरले स्वदेशमै उत्पादन भएका प्राकृतिक, वातावरणमैत्री र गुणस्तरीय सामग्रीलाई सहज पहुँचमा उपलब्ध गराएको छ," सञ्चालकले बताए, "ग्राहकहरूको सकारात्मक प्रतिक्रिया र चासो देख्दा हामी निकै उत्साहित भएका छौं।"
त्यस्तै पर्यटन विधामा सक्रिय सञ्चारकर्मी विराट अनुपमले यस्ता स्वदेशी उत्पादन तथा बिक्री वितरणले नेपालको आर्थिक विकासमा टेवा पुग्नुका साथै पर्यटन प्रबर्धनमा समेत टेवा पुग्ने बताएका छन्।
स्थानीय बजारमा स्वदेशी सामग्रीप्रतिको आकर्षण र गाँजाबाट बनेका उत्पादनप्रतिको चासो हेर्दा इटहरीको ‘गाँजा स्टोर’ ले आगामी दिनमा अझ ठूलो सफलता हासिल गर्ने अपेक्षा गरिएको छ।