इटहरी | मातृभक्तिको प्रतीकका रूपमा मनाइने माता तिर्थ औँसीको विशेष अवसरमा नेपाल तरुण दल इटहरी उपमहानगर समितिले एक सामाजिक सेवा कार्यक्रम सम्पन्न गरेको छ। समितिले इटहरीस्थित श्रीकृष्ण प्रणामी मन्दिर मुक्तिधाममा आश्रय लिएर बस्नुभएका आमाहरूलाई लत्ता कपडा तथा मिठाइ वितरण गर्दै श्रद्धा र सम्मान व्यक्त गरेको हो।

कार्यक्रममा नेपाल तरुण दल इटहरी उपमहानगर समितिका अध्यक्ष अनीश (सुवेदी) गोरे, उपाध्यक्ष मनिष चौधरी (थोप्स) र बसन्त राई, कोषाध्यक्ष स्मारिका सुबेदी, सचिव एबिन निरौला लगायत अन्य पदाधिकारी तथा सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो। उनीहरूको संयुक्त प्रयासमा २५ जना भन्दा बढी आमाहरूलाई आवश्यक लत्ता कपडा र विभिन्न प्रकारका मिठाइ वितरण गरिएको थियो।

अध्यक्ष अनीश (सुवेदी) गोरेले सामाजिक उत्तरदायित्व बोध गर्दै यस्तो कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, "हामीले मातृभक्तिको यस विशेष दिनलाई सामाजिक सेवासँग जोडेर आमाहरूलाई सम्मान गर्ने प्रयास गरेका छौं। भविष्यमा पनि यस्ता गतिविधिहरूलाई निरन्तरता दिने हाम्रो योजना छ।"1745737312074

नेपाल तरुण दल, इटहरी उपमहानगर कार्यसमितिको हालै सम्पन्न पाँचौं अधिवेशनबाट निर्वाचित पदाधिकारीहरूले सामाजिक कार्यमा सक्रिय भूमिका निर्वाह गर्नुपर्ने संकल्प लिएको जनाइएको छ। त्यसै अनुरूप मातृ औँसीको अवसरमा सामग्री वितरण कार्यक्रम आयोजना गरिएको हो।

समितिका उपाध्यक्ष मनिष चौधरी (थोप्स)ले भने, “हाम्रो संगठनले केवल राजनीतिक गतिविधिमै सीमित नरही समाज सेवामा समेत महत्वपूर्ण योगदान दिने लक्ष्य लिएको छ। आमाहरूको अनुहारमा खुशी देख्न पाउनु हाम्रो लागि ठूलो सन्तोषको विषय हो।”

यस कार्यक्रमले सामाजिक भावनाको प्रवर्द्धन मात्रै नभई युवाहरूलाई मातृसेवा र मानवीय सेवामा अभिप्रेरित गर्ने उद्देश्य बोकेको आयोजकहरूले बताएका छन्। कार्यक्रमको सफलताका लागि सम्पूर्ण टिमको सहकार्य र आमाहरूको सकारात्मक प्रतिक्रिया प्रमुख रह्यो।


1745737313681