मौसम कोइराला
काठमाडौं – नेपाल तरुण दल सुनसरी जिल्ला समितिले उल्लेखनीय उपलब्धि हासिल गर्दै जिल्लाका सबै वडा र पालिकामा अधिवेशन सम्पन्न गर्ने पहिलो जिल्ला बन्न सफल भएको छ। यस उपलब्धिको अवसरमा नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले सुनसरी जिल्ला अध्यक्ष सिजन गुरुङलाई औपचारिक पत्रमार्फत बधाई तथा शुभकामना दिएका छन्।
पत्रमा अध्यक्ष गुरुङले भनेका छन्, "नेपाल तरुण दल सुनसरीले १२४ वटा वडा र १२ वटा पालिकामा निर्धारित समयमै अधिवेशन सम्पन्न गरी संगठनात्मक जिम्मेवारीको उदाहरणीय निर्वाह गरेको छ। यसले संगठनप्रति देखाएको प्रतिबद्धता र कार्यदक्षता प्रष्ट पार्छ।"
सुनसरी जिल्ला अधिवेशनको तयारीमा जुटिरहेकाल यो कार्यमा सक्रिय भूमिका खेलेको भन्दै अध्यक्ष गुरुङले जिल्ला अध्यक्ष सिजन गुरुङ सहित सम्पूर्ण जिल्ला कार्यसमितिलाई धन्यवाद ज्ञापन गरेका छन्।
नेपाल तरुण दल केन्द्रीय कार्यालयका अनुसार विभिन्न पालिकामा नयाँ नेतृत्व समेत चयन भइसकेका छन्। धरान उप–महानगरपालिकामा रामकुमार तामाङ, इटहरी उप–महानगरपालिकामा अनिश सुवेदी, इनरुवा नगरपालिकामा अरुण के.सी., दुहवी नगरपालिकामा मोहम्मद नसरुदिन अध्यक्षमा चयन भएका छन्।
त्यस्तै, बराहक्षेत्र नगरपालिकामा मणिराज राई, रामधुनी नगरपालिकामा जितेन्द्रबहादुर विष्ट, देवानगञ्ज गाउँपालिकामा मुकेश यादव, भोक्राह गाउँपालिकामा आरिफ अन्सारी, गढी गाउँपालिकामा शिवशंकर यादव, कोशी गाउँपालिकामा सञ्जय यादव, हरिनगारा गाउँपालिकामा नरुद्धिन अन्सारी र बर्जु गाउँपालिकामा दीपेन्द्र चौधरी अध्यक्षमा चयन भएका छन्।
नेपाल तरुण दल सुनसरीको यो उपलब्धिले देशका अन्य जिल्लाहरूका लागि प्रेरणाको स्रोत बन्ने विश्वास व्यक्त गरिएको छ। संगठनात्मक सुदृढीकरण, युवाको सहभागिता र कार्यान्वयन क्षमताका दृष्टिले यो कदम महत्त्वपूर्ण मानिएको छ।


