भोजपुर – आठौं अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बल (एपीएफ) क्लबले आफ्नो नाममा गरेको छ। फाइनल खेलमा गत वर्षको विजेता चर्च ब्वाइज युनाइटेड, ललितपुरलाई ४–० को फराकिलो अन्तरले हराउँदै एपीएफले यो ऐतिहासिक सफलता हात पारेको हो।

शनिबार सम्पन्न उपाधि निर्णायक खेलमा एपीएफ सुरुदेखि नै आक्रामक देखिएको थियो। खेलको पहिलो हाफमै अग्रता लिएको एपीएफले दोस्रो हाफमा पनि दबाब कायम राख्दै थप गोलहरू गर्दै चर्च ब्वाइजलाई गोल गर्ने कुनै मौका नदिएको थियो।

टिमका तर्फबाट बिशाल स्याङतान (जर्सी नं. १७), समीराज थोकर (७), अनिश महर्जन (११) र बिकी तामाङ (२१) ले एक–एक गोल गर्दै टिमलाई विजय दिलाए।

प्रतियोगिताको उत्कृष्ट खेल प्रदर्शनका लागि एपीएफका मान बहादुर राना (३) ‘म्यान अफ द म्याच’ घोषित भए। त्यस्तै, प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूमा पनि एपीएफले नै सबै प्रमुख विधा कब्जा गर्‍यो।

सुजन बिक (२५) उत्कृष्ट गोलरक्षक, समीराज थोकर (७) सर्वाधिक गोलकर्ता, पदम भट्टराई (१३) उत्कृष्ट खेलाडी र मिलन राई उत्कृष्ट प्रशिक्षक घोषित भए।

विजेता एपीएफ क्लबले ट्रफी, प्रमाणपत्र, मेडलसहित नगद पाँच लाख रुपैयाँ प्राप्त गर्‍यो भने उपविजेता चर्च ब्वाइज युनाइटेडले तीन लाख रुपैयाँसहित दोश्रो स्थानमा चित्त बुझायो।

पुरस्कार वितरण समारोहमा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री शेरधन राई, भोजपुर नगरपालिकाका प्रमुख कैलाश कुमार आले,उपप्रमुख निर्मला शेर्पा, जिल्ला फुटबल संघ भोजपुरका अध्यक्ष प्रबिण कुमार सुवाललगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।

भोजपुर नगरपालिकाको ३० लाख रुपैयाँको मुख्य प्रायोजनमा सम्पन्न यो प्रतियोगिताको आयोजना जिल्ला फुटबल संघ, भोजपुरले गरेको हो। प्रतियोगितामा नेपालका विभिन्न जिल्लाका प्रतिष्ठित टिमहरूका साथै छिमेकी भारतको जर्जियन फुटबल क्लबसहित कुल आठ टिमको सहभागिता रहेको थियो। सहभागी टिमहरूमा आयोजक भोजपुर जिल्ला फुटबल संघ, सशस्त्र प्रहरी बल नेपाल, चर्च ब्वाइज युनाइटेड काठमाडौं, सलहेश क्लब सिरहा, नवबुद्ध क्लब सप्तरी, भगवती स्पोर्ट्स क्लब खोटाङ, एलएक्स सिटी मोरङ र भारतको जर्जियन क्लब रहेका थिए।

प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएपछि आयोजक संस्थाले आगामी संस्करणलाई अझ व्यापक र स्तरीय बनाउने प्रतिबद्धता जनाएको छ।