लेटाङ — नेपालको पूर्वी मोरङस्थित लेटाङ नगरपालिका र पश्चिमी भागको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको लुम्बिनी साँस्कृतिक नगरपालिका बीच औपचारिक रूपमा ‘भगिनी सम्बन्ध’ स्थापना गरिएको छ। दुई नगरपालिकाका प्रमुखहरूले आपसी समझदारीपत्रमा हस्ताक्षर गरी भविष्यमा सहकार्य, अनुभव आदान–प्रदान तथा द्विपक्षीय सम्बन्ध विस्तार गर्ने घोषणा गरेका हुन्।

लेटाङ नगरपालिकाका नगरप्रमुख भूपेन्द्रकुमार लावती र लुम्बिनी साँस्कृतिक नगरपालिकाका नगरप्रमुख सजरुद्दिन मुसलमानले संयुक्त रूपमा १० बुँदे समझदारीपत्रमा हस्ताक्षर गर्दै सम्बन्धको औपचारिक सुरुवात गर्नुभयो।

सम्झौतामा समेटिएका १० बुँदामध्ये प्रमुख बुँदाहरूमा नगरस्तरीय अनुभव तथा अभ्यासको आदान–प्रदान, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, पर्यटन प्रवर्द्धन तथा सांस्कृतिक सम्बन्ध सुदृढ गर्ने विषयहरू रहेका छन्। साथै, दुवै नगरले आवश्यक परेमा प्राविधिक सहयोग, मानव संशाधन विकास तथा योजना निर्माणमा आपसी परामर्श गर्न सक्ने सहमति पनि भएको छ।

 लेटाङ नगरपालिकाले कृषि, शिक्षाक्षेत्र तथा विविध समुदायको समावेशी विकासमा टेवा दिँदै आएको छ भने लुम्बिनी साँस्कृतिक नगरपालिका भगवान् गौतम बुद्धको जन्मस्थल भएको कारणले विश्वव्यापी धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको क्षेत्र हो। यी दुई नगरको भौगोलिक दूरी तथा भिन्नता हुँदाहुँदै पनि साझा हितका क्षेत्रहरूमा सहकार्य गर्न सकिने विश्वासका साथ भगिनी सम्बन्ध स्थापना गरिएको बताइएको छ।

नगरप्रमुख लावतीले उक्त अवसरमा भन्नुभयो, “लेटाङ र लुम्बिनीबीचको यो सम्बन्ध केवल कागजी सम्झौता होइन, व्यवहारिक सहकार्यका अवसरहरू खोज्ने सुरुवात हो। हामी लुम्बिनीको अनुभवबाट सिक्नेछौं र आफ्नो दक्षता पनि साझेदारी गर्नेछौं।”

त्यस्तै, नगरप्रमुख मुसलमानले भन्नुभयो, “भगिनी सम्बन्धले देशको दुई फरक क्षेत्रबीच सहकार्यको नयाँ ढोका खोल्नेछ। यो सम्बन्धले हाम्रो ऐतिहासिक र साँस्कृतिक समृद्धिलाई सशक्त तुल्याउने विश्वास लिएको छु।”

सम्झौता हस्ताक्षर कार्यक्रममा लेटाङ नगरपालिकाकी उपप्रमुख कृष्णकुमारी निरौला, लुम्बिनी साँस्कृतिक नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवाली, दुवै नगरका वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, नगर कर्मचारीहरू र स्थानीयहरूको उपस्थिति रहेको थियो।1746353104446

यस प्रकारको भगिनी सम्बन्धले नेपालको स्थानीय तहहरूबीच आपसी समझदारी, अभ्यासको आदान–प्रदान र समन्वयकारी विकासमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ। आगामी दिनहरूमा दुवै नगरले संयुक्त परियोजना, भ्रमण कार्यक्रम र तालिम आदिको आयोजना गर्ने योजना पनि बनाइरहेका छन्।