इटहरी | बीमा क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएको नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, कोशी प्रदेशले आफ्नो स्थापनाको २४ वर्ष पूरा गरी २५औं वर्ष प्रवेशको अवसरमा विशेष कार्यक्रमको आयोजना गरेको छ। सामाजिक उत्तरदायित्व वहन र जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित कम्पनीले आइतबार इटहरीमा प्रभातफेरी र बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको हो।

उक्त कार्यक्रम पेसागत बीमा अभिकर्ता संघ नेपाल र विमक समिति, नेपाल लाइफ इन्स्योरेन्स कोशी प्रदेश समितिको संयुक्त पहलमा सम्पन्न भएको हो। प्रभातफेरी कार्यक्रम बिहानै इटहरी बजार परिक्रमा गर्दै सुरु भई कम्पनीको प्रदेश कार्यालय अगाडि समापन गरिएको थियो। कार्यक्रममा सहभागिहरूले ‘स्वास्थ्य र जीवन बीमाको महत्त्व’ भन्ने सन्देश बोकेका प्लेकार्ड, ब्यानर र नारासहित सहभागिता जनाएका थिए।

यसै अवसरमा आयोजित रक्तदान कार्यक्रम नेपाल रेडक्रस सोसाइटी, जिल्ला शाखा धरान अन्तर्गतको रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा सम्पन्न गरिएको थियो। कार्यक्रममा ५६ जना स्वयंसेवी रक्तदाताहरूले रक्तदान गरेका थिए। सहभागीहरूमा बीमा अभिकर्ता, कम्पनीका कर्मचारी, स्थानीय बासिन्दा तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको औपचारिक सत्रमा बोल्दै पेसागत बीमा अभिकर्ता संघ कोशी प्रदेश समितिका अध्यक्ष सूर्य प्रसाद दाहालले बीमा मात्र व्यवसाय नभई सामाजिक उत्तरदायित्व बोकेको सेवा पनि भएको बताए। उनले भने, “जीवनरक्षक सेवामा सघाउने उद्देश्यले हामीले रक्तदान कार्यक्रम आयोजना गरेका हौं। यसले समाजमा सकारात्मक सन्देश दिनेछ।”1746355396243

उनले सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता कार्यक्रमहरूलाई संस्थागत रूपमा निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गरे। कार्यक्रममा बीमा क्षेत्रमा सक्रिय ३१ शाखामध्ये १८ शाखाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले स्थापना कालदेखि नै बीमा सेवा विस्तारसँगै सामाजिक काममा पनि सक्रिय सहभागिता जनाउँदै आएको छ। शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापनजस्ता क्षेत्रमा समेत कम्पनीको योगदान रहँदै आएको छ।

कम्पनीका प्रदेश प्रमुख लगायतका वरिष्ठ कर्मचारीहरूले आगामी दिनमा अझ प्रभावकारी कार्यक्रमहरू ल्याउने योजना रहेको बताएका छन्। बीमा सेवामा आम नागरिकको पहुँच विस्तार गर्ने, बीमाको महत्त्वबारे चेतना फैलाउने र समाजप्रति जिम्मेवार संस्था बन्ने अभियानमा नेपाल लाइफ निरन्तर अग्रसर रहने प्रतिबद्धता कम्पनीले व्यक्त गरेको छ।

IMG_20250504_162939