धरान | राजनीतिक दलप्रतिको सर्वसाधारणको सोचमा तीव्र परिवर्तन आइरहेका वर्तमान परिस्थितिमा नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलले जनमानसमा फैलिएको भ्रमलाई चिर्न युवाहरूले अग्रसर हुनुपर्ने धारणा व्यक्त गरेको छ। नेपाली काँग्रेस धरान उपमहानगर समितिको मातहत रहेको नेपाल तरुण दल धरान नगर समितिको ५ औं अधिवेशन एवं नयाँ पदाधिकारीहरूको पदस्थापन तथा सम्मान कार्यक्रम आइतबार भव्य रूपमा सम्पन्न भयो।
उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस कोशी प्रदेशका सदस्य एवं नेपाल तरुण दल सुनसरीका सभापति सिजन गुरुङले तरुण दललाई समाज रूपान्तरणको जिम्मेवारी लिएको युवा दस्ताका रूपमा परिभाषित गर्दै वडादेखि राष्ट्रसम्म सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औंल्याए। उहाँले स्वच्छ, सुरक्षित र सशक्त समाज निर्माणका लागि तरुण दलका प्रत्येक सदस्यले आ–आफ्नो स्थानबाट दायित्व वहन गर्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा विशेष अतिथि स्वरूप बोल्दै नेपाली काँग्रेसका जिल्ला नेतासमेत रहनुभएका धरान उपमहानगरपालिका–१६ का वडाध्यक्ष मुरारी भट्टराईले आगामी २०८४ सालमा हुने संघीय, प्रदेश तथा स्थानीय तहको निर्वाचनमा तरुण दलले प्रभावकारी भूमिका खेल्न सक्ने खण्डमा नेपाली काँग्रेस पुनः सबैभन्दा ठूलो दलको रूपमा स्थापित हुन सक्ने दाबी गर्नुभयो। उहाँले युवा पुस्ताले काँग्रेसको विचार, नीति र दृष्टिकोणलाई जनमानसमा पुर्याउन सके काँग्रेसलाई सुदृढ बनाउने सम्भावना बलियो हुने धारणा राख्नुभयो।
यस्तै, तरुण दल धरान नगर समितिका सभापति राम तामाङले तरुण दलले पार्टीको निर्देशन अनुसार सामाजिक सेवामा अहोरात्र खटिएको बताउँदै, युवाहरूले गरिरहेका सकारात्मक कार्यको प्रतिफल नेपाली काँग्रेसले प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो। साथै, उहाँले पार्टीका अग्रज नेताहरूलाई युवाहरूको हौसला अभिवृद्धिका लागि निरन्तर मार्गदर्शन र सहयोग गर्न आग्रह गर्नुभयो।
सो अवसरमा विगतमा धरान नगर तरुण दलको नेतृत्व सम्हालेका अध्यक्षहरूलाई सम्मान गरिएको थियो। सम्मानित व्यक्तिहरूले आफ्नो कार्यकालका अनुभवहरू साझेदारी गर्दै अहिलेका युवाहरूले संगठनलाई थप गतिशील बनाउने दिशामा अग्रसर हुनुपर्नेमा जोड दिए।
कार्यक्रममा नेपाली काँग्रेसका प्रदेश सदस्य गोविन्द बस्नेत, महासमिति सदस्य एवं धरानका पूर्व मेयर तिलक राई, क्षेत्रीय सभापति सुजेन्द्र गोले, नगर सभापति श्याम पोखरेलसहित विभिन्न तहका नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उनीहरूले तरुण दललाई समाज परिवर्तनको अग्रपंक्तिको दस्ताको रूपमा व्याख्या गर्दै त्यसअनुसार जिम्मेवारी निर्वाह गर्न सुझाव दिएका थिए।
कार्यक्रमले तरुण दललाई एकताबद्ध बनाउँदै नयाँ नेतृत्वलाई सशक्त ढंगले अगाडि बढाउने आधार तयार गरेको सहभागीहरूको भनाइ थियो। समग्रमा कार्यक्रम उत्साहजनक वातावरणमा सम्पन्न भएको थियो।


