इटहरी । धरानको कृषि उपज बजारमा बिक्री वितरणका लागि ल्याइएको २ हजार ४ सय १२ केजी काउली नष्ट गरिएको छ । बिषादी हालेर बिक्री वितरणका लागि ल्याएपछि नष्ट गरिएको हो । कृषि बजारमा विषादी हालेर मकवानपुर जिल्लाको पालुङबाट धरानका व्यापारीले बिक्री वितरणका लागि कृषि बजारमा ल्याएका थिए । उक्त फूलकोपीरकाउली खान योग्य छ कि छैन भनेर केन्द्रीय कृषि प्रयोगशाला धरान शाखाले परीक्षण गर्दा विषादी भेटिएपछि काउली नष्ट गरिएको कृषि उपज बजारका प्रबन्धक लक्ष्मण भट्टराईले बताए । ठूलो परिणामको काउली मकवानपुरदेखि धरान ल्याएपछि शंका लागेर विषादी विश्लेषन प्रयोगशाला सञ्चालक समितिका संयोजक धरानका उपमेयर अइन्द्रबिक्रम बेघाले उद्योग वाणिज्य संघ सुनसरी, प्रहरी, प्रशासनका प्रतिनिधि र धरान(१३ का वडाअध्यक्ष नेत्र काफ्लेको उपस्थितिमा खाडल खनेर काउलीको नष्ट गरेका थिए । उपमेयर बेघाले जनताको स्वास्थ्यमा गम्भीर असर पर्ने गरि विषादी हालेर तरकारी उत्पादन गर्ने किसान र बिक्रेतालाई समेत कडा कार्बाही गर्ने चेतावनी दिएका छ्न् । धरान(१३ का स्थानीय रबि राईले जनताको विषादी हालेको काउली बिक्री गर्ने व्यापारीलाई कडा कारबाही गर्न माग गरेका छ्न् । उपभोक्ताहरूको स्वास्थ्यलाई ध्यानमा राखेर कृषि उपज बजारमा विभिन्न जिल्लाबाट आउने फलफूल, तरकारी र सागसब्जी परीक्षण गरि खान योग्य छ भने मात्र बिक्री वितरण गर्ने गरिएको कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष काजी गिरीले बताए।


