इटहरी । झापाको एक सामुदायिक विद्यालयले दमक नगरपालिकाको प्रशासनिक भवनमा तालाबन्दी गरेको छ । दमक ८ स्थित सरस्वती माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष गगन पुरीको नेतृत्वमा गएको विद्यालयका शिक्षक तथा अभिभावकहरुको समुहले दमक नगरपालिकामा मंगलवार विहान तालबन्दी गरेको हो । विद्यालयको नाममा रहेको जग्गा मिचेर विभिन्न संरचना बनेको र एउटा नीजि विद्यालयले समेत बवर्षौंदेखि संरचना बनाएर विद्यालय चलाउँदै आएकाले हटाउन माग गरिएको अध्यक्ष पुरीले बताउनुभयो। उहाँका अनुसार नगरपालिकाले बारम्बार रुपमा हटाउने भन्दै नहटाउँदा बाध्य भएर आन्दोलनमा उत्रनु परेको हो । नगरपालिकामा बारम्बार रुपमा ध्यानकर्षण गराउँदा पनि गडमदर नामको नीजि विद्यालय हटाउन अटेर भएकाले तालबन्दी गरिएको उहाँको भनाइ छ । दुई साताअघि पनि हामीले नगरपालिकाको ध्यानकर्षण गराएका हौं तर विद्यालय हट्न छाटकाट नदेखाएपछि दवावका लागि नगरपालिकामा तालबन्दी गर्नुपरेको पुरीले जनाउनुभयो । दमक नगरपालिकाका प्रमुख रामकुमार थापाका अनुसार उक्त नीजि विद्यालय हटाउनका लागि बारम्बार प्रयास गरिँदै आएको छ । आफूहरुले विद्यालयलाई पत्र पठाएर हटाउन निर्देशन दिईसकेको थापाले बताउनुभयो । नगरपालिकाले उक्त विद्यालयमा आफ्ना विद्यार्थी भर्ना नगर्न भनेर सूचना पनि जारी गरेको थियो । आफुलाई केही समय दिन गडमदरले माग गरेको र अन्यत्र संरचना बनाइरहेकाले हटन अटेर गरेको जनाइएको छ ।


