सुनसरी | इटहरीको ओसियन पार्कमा यहीँ बैशाख २८ र २९ गते कोशी प्रदेशस्तरीय खुला पौडी प्रतियोगिता हुने भएको छ ।
“खेलकुद नै स्वास्थ्यको मूल आधार हो” भन्ने मूल नाराका साथ कोशी प्रदेश पौडी संघले दोस्रोपटक आयोजना गर्न लागेको कोशी प्रदेशस्तरीय खुला पौडी प्रतियोगिता यहीँ बैशाख २८ र २९ गते विराटनगरमा हुने भएको छ। प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेशको मुख्य प्रायोजनमा सञ्चालन हुने प्रतियोगितामा प्रदेशका सबै १४ वटै जिल्लाका खेलाडीहरूको सहभागिता रहनेछ।
प्रतियोगितामा करिब १६० जना खेलाडी र टिम व्यवस्थापक सहभागी हुने अनुमान गरिएको छ। जम्मा २३ वटा इभेन्टहरू समेटिएको प्रतियोगिता विराटनगरस्थित ओसियन पार्क एण्ड रिसोर्ट प्रा.लि.को सर्ट कोर्स स्विमिङ पुलमा आयोजना गरिनेछ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टिम तथा खेलाडीलाई नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। टिम इभेन्टमा प्रथम हुने टोलीलाई ५० हजार रुपैयाँ, द्वितीय हुनेलाई ३० हजार र तृतीय हुनेलाई २० हजार रुपैयाँ प्रदान गरिनेछ। त्यस्तै, टिम रिले इभेन्टमा विजेता टोलीलाई क्रमशः ७ हजार, ५ हजार र ३ हजार रुपैयाँसहित प्रमाणपत्र दिइनेछ। व्यक्तिगत इभेन्टतर्फ प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
खेलाडी, टिम व्यवस्थापक तथा अफिसियलहरूका लागि खेल पोशाक, दुईतर्फी सार्वजनिक यातायात खर्च, खाजा, खाना र आवासको व्यवस्था कोशी प्रदेश पौडी संघले गर्ने जनाएको छ।
संघका अध्यक्ष तथा कार्यक्रम संयोजक डम्बर बहादुर तामाङले पौडी खेलालाई निरन्तरता दिनका लागि प्रतियोगिता गर्न लागिएको साथै सफलतापूर्वक सम्पन्न गर्न आवश्यक तयारीहरू तीव्र पारिएको जानकारी दिएका छन्। उनले प्रतियोगिताले प्रदेशभित्र पौडी खेलको विकास र लोकप्रियता बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।


