इटहरी । नेपाल सरकारको राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत टेम्केमैयुङ गाउँपालिका–१ स्थित तिम्मा वडा पूर्ण खोप सुनिश्चितता भएको वडा घोषणा गरिएको छ । वडा नम्बर १ का वडा अध्यक्ष तथा वडा खोप समन्वय समिति अध्यक्ष नर बहादुर राईले स्वास्थ्य चौकी तिम्मालाई पूर्ण खोप सुनिश्चितता वडा घोषणा गर्नुभएको हो । राष्ट्रिय पूर्ण खोप सुनिश्चितता निर्देशिकामा उल्लेखित सम्पूर्ण प्रक्रिया पूरा गरी १५ महिनाभित्र निःशुल्क उपलब्ध गराइने सम्पूर्ण खोप बालबालिकालाई प्रदान गरिएकाले यस वडाले पूर्ण खोप सुनिश्चितता प्राप्त गरेको हो । घोषणा कार्यक्रममा बोल्दै वडा अध्यक्ष राईले खोप कार्यक्रमलाई निरन्तरता दिने तथा यसलाई स्थानीय निकायको नियमित कार्यक्रममा समावेश गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले खोप सुनिश्चितता अभियानलाई सफल बनाउन वडा कार्यालय, स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, समाजसेवी लगायत सबै सरोकारवाला पक्ष प्रति आभार प्रकट गर्नुभयो । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, अभिभावक, समाजसेवी तथा नागरिकहरूको उल्लेख्य उपस्थिति रहेको थियो। वडा स्तरमा पूर्ण खोप सुनिश्चितता भएको यस घोषणालाई बालबालिकाको स्वास्थ्य सुरक्षाका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।