इटहरी । धनकुटाको चौबिसे गाउँपालिकाले गुलाफ प्रवर्द्धन कार्यक्रम सुरू गरेको छ। गुलाफ पार्कको अवधारणसहित सुरु गरिएको प्रवर्द्धन अभियानका लागि गाउँपालिकाले एक रोपनी जग्गामा मौसमअनुसार फुल्ने विभिन्न १८ प्रजातीका गुलाफ फूल संकलन गरेको छ। गाउँपालिकामा गुलाफ फूलको खेतीलाई अभियानकै रूपमा अघि बढाइएको गाउँपालिका अध्यक्ष राजकुमार चेम्जोङले जानकरी दिनुभयो। आगन्तुक पाहुनाको स्वागत र घरेलु सौन्दर्यका लागि हरेक घरमा गुलाफको बगैँचा अनिवार्य गरिने गाउँपालिकाको योजना छ। गुलाफ पार्क अभियानका लागि कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षमा गाउँपालिकालाई सात लाख रुपियाँ उपलब्ध गराएको छ। धनकुटा चौबिसे गाउँपालिकाको राजारानी, मुढेबास, सौरे र छनम्बर बुधबारे सीमसार र पर्यापर्यटनका लागि प्रसिद्ध छन्। गाउँपालिकामा गुलाफ फूलको व्यवसायीक उत्पादन बढाएर सजावट र उपहार तथा सुगन्धका वस्तु उत्पादन गरी आयात प्रतिस्थापनको लक्ष्य रहेको उपाध्यक्ष टंकमाया पाङ्मी मगरले जानकारी दिनुभयो।