इटहरी | नेपाल निजामती कर्मचारी युनियनको पाँचौ औं प्रदेश सम्मेलन/प्रशिक्षण एंव निवर्तमान केन्द्रीय अध्यक्ष गोपाल प्रसदा पोखरेल समेतको सम्मान तथा विदाई कार्यक्रम गरिएको छ ।
उक्त कार्यक्रम युनियनका केन्द्रीय उपाध्यक्ष तथा कोशी प्रदेश अध्यक्ष मान बहादुर बनको अध्यक्षता र पूर्व उपप्रधान तथा पूर्व गृहमन्त्री कृष्णप्रसाद सिटौलाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
उक्त अवसरमा युनियनबाट १३ जना विशिष्ट व्यक्तिहरूलाई सम्मान गरिएको थियो भने तीन जना निवर्तमान पदाधिकारीहरूलाई बधाईसहित विदाई गरिएको थियो। विदाई गरिएकामध्ये निवर्तमान केन्द्रीय अध्यक्ष गोपालप्रसाद पोखरेललाई विशेष सम्मान प्रदान गरिएको थियो।
प्रदेश अध्यक्ष मान बहादुर बनले युनियनको गतिविधि, इतिहास, वर्तमान अवस्था र भविष्यको योजना समेटिएको पृष्ठभूमि प्रतिवेदन प्रस्तुत गर्दै निजामती कर्मचारी युनियनको सुदीर्घ संघर्षको यात्रा र प्रदेशस्तरीय संरचनाको भूमिका स्पष्ट पारे। उनले कर्मचारीहरूबीच ऐक्यबद्धता र संस्थागत सशक्तिकरणमा युनियनले खेलेको भूमिकाको चर्चा गर्दै आगामी दिनमा अझ बढी सशक्त रूपमा अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याए।
कार्यक्रममा प्रमुख अतिथि कृष्णप्रसाद सिटौलाले निजामती सेवा राष्ट्रको मेरुदण्ड भएको उल्लेख गर्दै कर्मचारीहरूको समर्पण र निष्ठाप्रति कृतज्ञता व्यक्त गरे। उनले युनियन जस्ता संस्थाहरूले कर्मचारीहरूको अधिकार संरक्षण, व्यावसायिक सशक्तीकरण र सामाजिक उत्तरदायित्वप्रति सजग रहनुपर्नेमा जोड दिए।
कार्यक्रममा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति माननीय रामहरी खतिवडा, युनियनका केन्द्रीय कार्यवाहक अध्यक्ष उत्तम कुमार कटुवाल, नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद राजीव कोइराला, नेपाली कांग्रेस सुनसरीका सभापति केदार भण्डारी, अन्य विशिष्ट अतिथिहरू तथा नेपाल निजामती कर्मचारी युनियन कोशी प्रदेशका पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन युनियन कोशी प्रदेशका सचिव राजु ढुंगानाले गरेका थिए।
कार्यक्रममा निजामती सेवा क्षेत्रको सुदृढीकरण, कर्मचारीहरूको हक–हितका सवालमा युनियनको भूमिका, भविष्यको कार्यदिशा र नेतृत्व हस्तान्तरणका विषयमा व्यापक छलफल भएको थियो।


