इटहरी | इटहरीस्थित ओसियन पार्कमा आजदेखि दुई दिने कोशी प्रदेशस्तरीय खुला पौडी प्रतियोगिता सुरू भएको छ। “खेलकुद नै स्वास्थ्यको मूल आधार हो” भन्ने नाराका साथ कोशी प्रदेश पौडी संघले प्रतियोगिताको दोस्रो संस्करण आयोजना गरेको हो।

प्रतियोगिताको उद्घाटन कोशी प्रदेश पौडी संघका अध्यक्ष तथा कार्यक्रम संयोजक डम्बर बहादुर तामाङको अध्यक्षता र कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य प्रदिप कुमार भगवत थारूको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।

कार्यक्रमका संयोजक तामाङले प्रतियोगिताको उद्देश्य प्रदेशभरिका खेलाडीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम बनाउनु रहेको बताउनुभयो। त्यस्तै, प्रमुख अतिथि थारूले कोशी प्रदेशमा पौडीजस्ता खेलकुद गतिविधिको विस्तार र प्रोत्साहनका लागि यस्ता प्रतियोगिताहरू अत्यन्त महत्वपूर्ण हुने धारणा व्यक्त गर्नुभयो।

प्रदेशका सबै १४ जिल्लाबाट करिब १६० जना खेलाडी तथा टिम व्यवस्थापक सहभागी भएको प्रतियोगिता ओसियन पार्क एण्ड रिसोर्ट प्रा.लि.को सर्ट कोर्स स्विमिङ पुलमा सञ्चालन भइरहेको छ। प्रतियोगितामा जम्मा २३ वटा इभेन्ट समावेश गरिएका छन्।

तामाङका अनुसार उत्कृष्ट प्रदर्शन गर्ने टिम र खेलाडीलाई नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। टिम इभेन्टतर्फ प्रथम हुने टोलीलाई ५० हजार, दोस्रोलाई ३० हजार र तेस्रोलाई २० हजार रुपैयाँ पुरस्कार दिइनेछ। रिले इभेन्टमा क्रमशः ७ हजार, ५ हजार र ३ हजार रुपैयाँ प्रदान गरिनेछ। व्यक्तिगत इभेन्टतर्फ प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।