इटहरी । सप्तकोशी नदीको बाढी र कटानको जोखिममा पर्दै आएको वराहक्षेत्र मन्दिरपरिसरमा प्रकोप नियन्त्रणका लागि काम सुरु गरिएको छ । वराहक्षेत्र मन्दिरपरिसरमा प्रकोप नियन्त्रणका लागि प्रदेश सरकारको प्राकृतिक प्रकोप नियन्त्रण योजनामार्फत काम सुरु गरिएको हो । वराहक्षेत्र नगरपालिका–१ मा रहेको वराहक्षेत्र मन्दिर हरेक वर्ष सप्तकोशी नदीमा आउने बाढीसँगै मन्दिर क्षेत्र र जोडिएको बस्ती जोखिममा पर्दै आएको छ । सप्तकोशी र कोकाह नदीको सङ्गमबाट करिब तीन सय फिटमाथि रहेको मन्दिरपरिसरमा वर्षामा आउने बाढीको प्रकोपबाट हुन सक्ने क्षति रोक्न काम सुरु गरिएको वराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिका भक्तबहादुर श्रेष्ठले बताउनुभयो । प्रत्येक वर्ष सप्तकोशी नदीमा आउने बाढीले मन्दिरपरिसर क्षेत्रको पूर्वी किनारमा धक्का दिँदै आएको थियो । गत वर्ष आएको बाढीले मन्दिरपरिसरमा रहेको वराह श्राद्धस्थल, गणेशमन्दिर, शनिमन्दिर, साकेला पार्क र शौचालयमा बाढीले क्षति पु¥याएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । वराहक्षेत्र मन्दिरसँगै जोडिएको १५० घरपरिवार नदीको जोखिममा पर्दै आएका छन् । तीन पुस्तादेखि बसोबास गर्दै आएको बस्ती जोखिममा पर्दा स्थानीय चिन्तित छन् । तीन हजार वर्षअघिको इतिहास बोकेको वराहक्षेत्र मन्दिर नदीको जोखिममा परेपछि चिन्ता थपिएको अध्यक्ष श्रेष्ठ बताउनुहुन्छ ।


