इटहरी । पाचँथरको याङ्वरक गाउँपालिकाले २३ जना युवायुवतीलाई केलाङ च्याब्रुङ नृत्य प्रशिक्षण दिइएको छ । गाउँपालिकाको वार्षिक कार्यक्रमबमोजिम छ वटा वडाका युवा लक्षित पाँच दिने प्रशिक्षण सोमबार सम्पन्न भएको हो । याक्थुङ लिम्बू जातिको मौलिक नृत्य च्याब्रुङबारे नयाँ पुस्ता प्रशिक्षित नहुँदा समाजमा च्याब्रुङको सङ्ख्या कम हुँदै गएकाले यसको संरक्षणका लागि तालिम दिइएको गाउँपालिका अध्यक्ष भीमबहादुर योङ्याले बताउनुभयो ।
किराँत याक्थुङ चुम्लुङका सचिव एवं कलाकार यासेली योङहाङसहित पूर्णबहादुर सेलिङ र उदय बेघाले प्रशिक्षण दिनुभएको थियो । पालिकाभित्रका सबै जातजातिका धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षण र सम्वर्द्धन गर्ने उद्देश्यले प्रत्येक वर्ष फरकफरक जाति विशेषका लागि यस प्रकारका तालिम हुँदै आएको गाउँपालिका उपाध्यक्ष बाबा मेन्याङ्बोले जानकारी दिनुभयो । सोमबार आयोजित समापन कार्यक्रममा यहाँका लिम्बू समुदायको कला संस्कृतिको जगेर्ना र सम्वर्द्धनमा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएका बमबहादुर माबो र काजीमान माबोलाई सम्मान गरिएको थियो ।