इटहरी । ताप्लेजुङ जिल्लाको मैवाखोला गाउँपालिका–१ ढुङ्गेसाँघु गैरीगाउँका ३४ वर्षीय मनोज थोप्रा लिम्बू मृत फेला परेका हुन् । ढुङ्गेसाँघुका वडाध्यक्ष चन्द्रकुमार तामाङका अनुसार थोप्राको शव मैवाखोला गाउँपालिका र मेरिङ्देन गाउँपालिकाको सिमाना भई बग्ने मैवाखोला किनार नजिक सोमबार फेला परेको हो । गत वैशाख १७ गतेदेखि थोप्रा बेपत्ता हुनुभएको थियो । आफन्तले बेपत्ता भएदेखि नै थोप्राको खोजी गरिरहेका र १३ दिनपछि मृत फेला परेको वडाध्यक्ष तामाङको भनाइ छ ।मृत फेला परेका थोप्राको शव सोमबार बेलुका नै पोस्टमार्टम परीक्षण का लागि जिल्ला अस्पताल ताप्लेजुङ पुर्याइएको छ । शव पोस्टमार्टम गरी आफन्तलाई बुझाइने प्रहरीले जानकारी दिएको छ । यता घटनाबारे अनुसन्धान सुरु भएको पनि जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।