इटहरी । प्रतिनिधिसभाका सदस्यहरुले सुनसरीस्थित धरानवासीका निम्ति खानेपानीका लागि पहल गर्नुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभा, पूर्वाधार विकास समितिको आजको बैठकमा धरानवासीको खानेपानी समस्याबारे सुनसरी उद्योग वाणिज्य सघंले गत पुस १७ गते समितिमा पेस गरेको उजुरीको सम्बन्धमा भएको छलफलका क्रममा सांसदहरुले समस्या समाधानका निम्ति खानेपानी मन्त्रालय, खानेपानी विभाग, खानेपानी उपभोक्ता समितिलगायत सरोकारवाला निकायलाई समितिमा आमन्त्रण गरेर छलफल गर्नुपर्नेमा जोड दिइएको हो ।
त्यसैगरी, समितिमा मकवानपुर उद्योग वाणिज्य सघंले यही वैशाख २५ गते पूर्व पश्चिम राजमार्गको हेटौँडाको रातोमाटेदेखि चौकोटोलसम्म र बुद्धचोकदेखि राप्ती पुलसम्मका स्थायी बासिन्दा मर्कामा परेका सडकका पुस्तौँ पुस्तादेखि बसोबास गर्दै आएपनि जग्गाधनी प्रमाणपूर्जा निजका स्वामित्वमा भएको लगायतका विषयलाई समावेश गरी समितिमा उजुरी दिएको थियो । सो विषयमा पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागलगायत सरोकारवाला निकायलाई आमन्तत्रण गरेर छलफल गरी समस्याको समाधान गर्नुपर्ने जोड दिइएको छ । नेकपा एकीकृत समाजवादी का सांसद प्रकाश ज्वालाले धारानवासीको खानेपानीको विवादको विषयलाई विस्तृत रुपमा अध्ययन गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । समितिले आज वार्षिक प्रतिवेदन–२०८१ परिमार्जनसहित पारित गरेको छ ।


