पाँचथर | याङवरक गाउँपालिका–१ स्थित तोरीफुले नाकामा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट (BOP) ले अवैध क्रियाकलाप नियन्त्रणका लागि व्यापक गस्ती सञ्चालन गरिरहेको छ। कार्यालय प्रमुख सशस्त्र प्रहरी नायब निरीक्षक रोहीत बहादुर भुजेलको नेतृत्वमा सीमावर्ती क्षेत्रमा सुरक्षालाई सशक्त बनाइएको हो।
नाकामा जङ्गली जनावर तथा जडिबुटी तस्करी न्यूनीकरण भएको याङवरक–१ का वडाध्यक्ष राजेन्द्र खालिन राईले जानकारी दिनुभयो। उहाँका अनुसार रेड पाण्डा जस्ता दुर्लभ वन्यजन्तु र बहुमूल्य जडिबुटीको अवैध ओसारपसारमा हाल रोक लागेको छ।
सशस्त्र प्रहरीले लागू औषध ओसारपसार नियन्त्रणमा समेत विशेष सक्रियता देखाएको छ। सीमावर्ती क्षेत्र भएकाले मानव तथा सामग्री आवत–जावतमा निगरानी कडा पारिएको बताइएको छ। स्थानीयवासीले सुरक्षा निकायको सक्रियता बढेसँगै शान्ति र सुरक्षाको अनुभूति भइरहेको बताएका छन्।


