इटहरी । नेपालको पूर्वी पहाडी जिल्ला इलाम जहाँ बर्सेनि हरियालीमा रमाउनेहरू तानिन्छन् । यहाँका चियाबारी अहिले चियाको बगान मात्र नभई पर्यटनको केन्द्रविन्दु बन्न थालेका छन् ।  हरिया पाखा, ढल्कँदो घाममा टल्किने चियाका पात र हिमालको काखमा फैलिएको प्राकृतिक सुन्दरताले इलामलाई चिया पर्यटनको ‘ब्रान्ड’ बनाउन थालेको छ । इलामका चियाबारी आजकल सेल्फी लिने, भिडियो बनाउने, घोडचढी गर्ने वा शान्त वातावरणमा रमाउने पर्यटकको पहिलो रोजाइ बन्न थालेका छन् । विशेष गरी कन्याम, अन्तु, पानीटार, फिक्कल र माईपोखरी क्षेत्रका चियाबारीमा दैनिक सयौँ पर्यटक पुग्ने गरेका छन् ।नेपालमा पहिलो पटक चिया रोपण र उत्पादन गरिएको सदरमुकामस्थित इलाम चिया बगान, कन्याम, अन्तु, पानीटार, फिक्कल र साँखेजुङ क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक भ्रमणका लागि आउने गरेका छन् ।  चिया रोपण, उत्पादन र प्रशोधनको अध्ययन तथा अवलोकनसँगै यहाँको मौसममा रमाउनका लागि बाह्रैमास पर्यटक आउने गरेको पाइन्छ । उनीहरूले चिया पर्यटनको व्यवस्थित विकासका लागि भौतिक संरचना निर्माणमा जोड दिँदै आएका छन् ।

चियाबाट देशको अर्थतन्त्रको विकाससँगै पर्यटनको प्रवर्धनका माध्यमबाट रोजगारीको अवसर सिर्जना गर्न सकिने चियाविज्ञ सोमाम पाल्चोर लामा बताउनुहुन्छ । उहाँले भन्नुभयो, “चिया पिउने मात्र होइन, चिया संस्कार र संस्कृतिको विकास गर्न सके चिया पर्यटन आफैँ फस्टाउँछ । चिया बगानको अवलोकनसँगै साइक्लिङ र लामो पदयात्राको प्रशस्त सम्भावना रहेकाले कन्याम र इलाम सदरमुकामको ऐतिहासिक चिया बगान पर्यटकको पहिलो रोजाइमा पर्ने गरेका छन् । चिया बगानमा असोज पहिलो सातादेखि वैशाख अन्तिम सातासम्म पर्यटकको भिड लाग्छ । कन्याममा चियाबारीभित्र बनेको स्काई वाकले अझै बढी चिया पर्यटनको प्रवर्धन गरेको छ । कन्याम चिया बगानभित्र सूर्योदय नगरपालिकाले निर्माण गर्दै गरेको साइक्लिङ रुट, कन्याम–अन्तु चियाबारी पदमार्ग, सिसाको पुल निर्माणाधीन अवस्थामा छन । यी संरचना निर्माण भइसक्दा चिया पर्यटनको थप विकास हुने सूर्योदयका नगरप्रमुख रणबहादुर राईले जानकारी दिनुभयो । “चियाबारीभित्र निर्माण भएका संरचनाकै कारण स्वदेशी र विदेशीको मन तान्न सक्ने रहेछ,” नगरप्रमुख राईले भन्नुभयो । चिया संस्कृतिे विस्तार केवल चिया पिउने मात्र नभई चियासँग सम्बन्धित सम्पूर्ण प्रक्रियालाई बुझ्न चाहने स्वदेशी तथा विदेशी चिया पारखीका लागि इलाम अध्ययन, अवलोकन र परीक्षणको गन्तव्य बन्दै गएको छ । सूर्योदयको अग्रसरता नेपालमै सबैभन्दा बढी चिया उत्पादन हुने जिल्ला इलाम हो भने त्यसमा पनि सूर्योदय नगरपालिका चियाको राजधानीका रूपमा परिचित हुँदै गएको छ ।

सूर्योदय नगरपालिकामा ६५ भन्दा बढी चिया कारखाना सञ्चालनमा छन्, जसले साना किसानदेखि ठुला व्यवसायीसमेतलाई रोजगारी र आम्दानीको माध्यम बनाएको छ । यहाँको चिया ‘अर्गानिक’ र ‘हाई ग्रेड’ भएका कारण अन्तर्राष्ट्रिय बजारमा समेत रुचाइएको छ । पछिल्लो समय नगरपालिकाले चियाको मूल्य निर्धारण गरी अर्गानिक चिया उत्पादनमा अग्रसरता देखाएको छ । चिया पर्यटनको विकाससँगै यहाँका स्थानीय बासिन्दाको आयआर्जनमा उल्लेखनीय सुधार देखिएको छ । होमस्टे, गेस्ट हाउस, रेस्टुरेन्ट, गाइड सेवा, स्थानीय उत्पादनको बिक्रीलगायत विभिन्न माध्यमबाट स्थानीय समुदाय प्रत्यक्ष लाभान्वित भइरहेका छन् । इलामको चियाले स्वाद, स्वास्थ्य र व्यापारमा योगदान दिइरहेको छ । जसका कारण पर्यटनका माध्यमबाट स्थानीय विकास र समृद्धिको नयाँ ढोका खोलिरहेको छ । यदि उचित नीतिगत हस्तक्षेप, पूर्वाधार विकास र सामुदायिक सहभागिता सुनिश्चित गरियो भने इलाम चिया पर्यटनको बलमा अन्तर्राष्ट्रिय गन्तव्य बन्न सक्ने पूर्ण सम्भावना बोकेको छ । चियाको सुगन्धमा समृद्धिको स्वाद मिसिएको इलाम, अब पर्यटकको रोजाइ मात्र नभई समृद्ध नेपालको एक प्रमुख प्रतीक बन्ने बाटोमा अघि बढिरहेको छ ।