इटहरी – वेस्ट एन्ड इन्भारो म्यानेजमेन्ट प्रा.लि. द्वारा इटहरी क्षेत्रमा सञ्चालन भइरहेको सफाइ अभियानलाई अझ प्रभावकारी बनाउँदै स्थानीय प्रशासन र समुदायको सहयोगमा सशक्त रुपमा अगाडि बढाइएको छ। यद्यपि, अभियानका बीचमा कतिपय व्यक्तिहरूको गैरजिम्मेवार रवैयाले समस्या थपिएको जनाइएको छ।
सडक, गल्ली, तथा सार्वजनिक स्थलहरूमा फोहोर जथाभाबी छर्ने प्रवृत्तिका कारण सफाइ अभियानमा अवरोध पुगेको र वातावरणमा नकारात्मक असर परेको बताइएको छ । यसरी फोहोर व्यवस्थापनमा लापरबाही गर्नु न त समाजप्रति उत्तरदायी व्यवहार हो, न नै स्वच्छ शहर निर्माणमा सहयोगी।
वेष्ट एण्ड इन्भारो म्यानेजमेन्ट प्रालिका अध्यक्ष देशभन्दु कार्कीका अनुसार स्थानीय बासिन्दा, व्यवसायी, घरधनी तथा संघसंस्थाहरूलाई आग्रह गर्दै भनिएको छ, “कृपया फोहोर निश्चित स्थानमा मात्र फाल्नुहोस्, अरूलाई पनि सचेत गराउनुहोस् र स्वच्छ इटहरी निर्माणमा सक्रिय सहयोग पुर्याउनुहोस्।
यसैबीच, इटहरी नगर प्रहरीले जथाभाबी फोहोर फाल्नेहरू विरुद्ध कडा कारबाही गर्ने चेतावनी दिइसकेको छ। नगर प्रहरीले यस्तो कार्यलाई असंवैधानिक र समाजविरुद्धको अपराध मानेर आवश्यक कानुनी प्रक्रिया अघि बढाउने जनाएको छ।
६ नं. वडाका अध्यक्ष दिवस पोखरेलको सक्रिय सहभागिता र निरन्तर सहयोगप्रति कम्पनीले आभार प्रकट गर्दै अभियानलाई अझ व्यापक बनाउन सामूहिक प्रयास आवश्यक भएको जनाएको छ।
“अब समय आएको छ— सबै मिलेर, सचेत भएर र कडाइका साथ स्वच्छ इटहरी निर्माण गर्ने। जथाभाबी फोहोर फाल्ने कार्य अब सह्य हुनेछैन,” अभियानका एक प्रतिनिधिले भने।


