इटहरी । स्किल सेवाले इटहरीमा घर निर्माणसम्बन्धी एक दिने निःशुल्क प्राविधिक परामर्श सेवा कार्यक्रम गर्ने भएको छ । जेष्ठ ३ गते शनिबार इटहरीस्थित रोयल रिसोर्ट होटलमा उक्त कार्यक्रम गर्न लागेको हो । उक्त कार्यक्रममा समस्यारहित, दिगो र सुरक्षित घर कसरी निर्माण गर्ने भन्ने विषयमा विशेष परामर्श दिइने कम्पनीले जनाएको छ । कार्यक्रममा स्किल सेवाको प्रमुख कार्यालयबाट संस्थापक तथा विज्ञहरुको समूहले परामर्श दिने जनाइएको छ । इटहरीमा बनेका प्रायः नयाँ घरहरूमा सिपेज, लिकेज र क्र्याकजस्ता समस्या बढी देखिएकाले कार्यक्रम आयोजना गरेको इटहरी शाखा प्रमुख सुगन्ध मिश्रले जानकारी दिए ।मिश्रका अनुसार, जीवनभरको मेहनतको कमाइले घर निर्माण गरिए पनि निर्माण सम्पन्न भएको पाँच महिना नपुग्दै समस्या देखिने गरेको छ । कार्यक्रममा यिनै विषयवस्तुबारे आवश्यक प्राविधिक परामर्श दिइनेछ । सुरुमै बुक गर्ने १०० जनालाई मात्र परामर्श दिइने जनाइएको छ ।
जग्गा छनोट, नक्सा पास, निर्माण कार्यको जिम्मा, सामग्री छनोट र सामग्रीको गुणस्तर जस्ता सामान्य देखिने तर संवेदनशील पक्षहरूमा कसरी ध्यान दिने भन्ने बारेमा समेत जानकारी दिइनेछ । यदि यस्ता कुरामा ध्यान नदिएमा भविष्यमा ठूलो दुर्घटनासमेत निम्तिन सक्छ उनले भने, त्यसैले हामीले सर्वसाधारण घराधनीहरुको सुरक्षा र आर्थिक क्षती न्यूनीकरणको लागि यो कार्यक्रम गर्न लागेका हौं । प्राविधिक परामर्श लिएर अनि मापदण्ड पुरा गरेर घर निर्माण गर्दा प्राकृतिक विपद, हावाहुरी र घामपानीबाट समेत घर सुरक्षित रहन्छ। घरको डाक्टरको रुपमा परिचय बनाएर विगत ७ वर्षदेखि घरका विविध समस्याको जाँच तथा वारेन्टीसहित समाधान गर्दै आएको स्किल सेवाले समस्यारहित घर निर्माणका लागि बेला बेलामा यस्ता निःशुल्क परामर्शहरू प्रदान गर्दै आएको छ । कम्पनीले ४५ हजारभन्दा बढी घरको जाँच गरिसकेको समेत व्यवस्थापक प्रशान्त प्रधानले जानकारी दिएका छन् ।


