इटहरी । इलामको फिक्कल–नयाँ बजार सडक खण्डमा पर्ने मयुँ खोलाको पुल भाँचिएपछि स्थानीय पालिकाको पहलमा मर्मतको काम सुरु गरिएको छ । केहि दिनअघि पुल भाँचिएपछि माईजोगमाई गाउँपालिका र सूर्योदय नगरपालिकाको पहलमा मर्मतको काम सुरु गरिएको हो । पुल भाँचिएर यातायत सञ्चालनमा अवरोध भएपछि तत्काल यातायत सञ्चालन गर्नेगरी पुल मर्मत गर्नका लागि दुबै पालिकाले पाँच, पाँच लाख रुपियाँ छुट्याएका थिए । जनप्रतिनिधि र प्राविधिकले भाँचिएको पुलको अनुगमन गरी तत्काल मर्मत गर्ने निर्णय गरेको माईजोगमाई गाउँपालिका उपाध्यक्ष प्रविना राईले जानकारी दिनुभयो ।

उहाँले भन्नु भयो, ‘नागरिकलाई समस्या आउन नदिनका लागि दुबै पालिकाको समन्वयमा जति सक्दो छिटो पुल मर्मत गरी यातायत सञ्चालनका लागिरहेका छौं ।’ पुल मर्मतको काम सम्पन्न नहुन्जेल सम्मका लागि पुलभन्दा तलतिरको खोलालाई फिजाइएको छ । जेसीबीले खोला फिजाएर यातायत सञ्चालन गर्नका लागि सहज बनाइएको सूर्योदय नगरपालिका विपद व्यवस्थापन समितिका संयोजक राजकुमार लिम्बुले जानकारी दिनुभयो । पुल भाँचिएपछि १० लाख रकमले नपुग्ने भएका कारण प्राविधिक स्टिमेट हेरी दुबै पालिकाले रकम थप गर्नेगरी काम थालिएको सूर्योदय नगरपालिकाका उप प्रमुख दुर्गाकुमार बरालले जानकारी दिनुभयो । ूयो पुल निर्माणको काम कोशी प्रदेश सरकारले गर्नुपर्ने तर प्रदेशले ध्यान दिएन, यस्तो अवस्थामा टुलुटुलु हेरर बस्न सकिएन, दुई पालिका मिलेर काम थाल्यौं,ू उपप्रमुख बरालले भन्नुभयो । पुल मर्मत गरेर तत्काल यातायत सञ्चालन गरिए पनि अहिलेको मर्मतले मात्र दिर्घकालिन समाधान दिन नसक्ने इन्जिनियर सापकोटाले जानकारी दिनुभयो ।

उक्त क्षेत्रका कोशी प्रदेश सांसद खिनु लङवा लिम्बूले प्रदेश सरकारले मयुँ खोलामा पक्की पुल निर्माणका लागि बहुवर्षे योजनाबाट काम थाल्न यसअघि नै डिपिआर गरिसकेको जानकारी दिनुभयो । बहुवर्षे योजनाबाट पुल निर्माणका लागि प्रदेशको अर्थ मन्त्रालयबाट श्रोत सुनिश्चत गरीएको निर्णय हुन बाँकी रहेको जानकारी दिनुभयो । केहि वर्ष अघिको बाढीले पक्की पुलको एक भाग बगाएपछि अस्थाई संरचना निर्माण गरिएको थियो । उक्त अस्थाई संरचना समेत भाँचिएपछि यातायत सञ्चालनमा समस्या भएको छ । पुल भाँचिएपछि खोलाबाट यातायतका साधन आउजाउ गर्नुपर्ने भएको छ र पानी नपर्दा खोलाबाट सवारी आउजाउ भए पनि पानी परेर खोला बढेपछि सवारी आउजाउ बन्द हुने अवस्थामा पुगेको छ । दुबै पालिकाले पुल निर्माणका लागि पहल गर्न प्रदेश सांसद लिम्बूलाई ध्यानाकर्षण गराएका छन् ।