इटहरी । मोरङको बेलबारी नगरपालिका भित्रका विभिन्न ६ वटा सामुदायिक विद्यालयमा अध्ययनरत सात सय ७९ विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । चाइना फाउण्डेसन फर रुलर डेभलपमेन्टको सहयोगमा न्यू लाइट फाउण्डेसन र एकीकृत हातेमालो समाजको समन्वयमा विद्यालयस्तरका बालबालिकालाई झोलासहित शैक्षिक सामाग्री वितरण गरिएको हो । विशेषगरी आर्थिक रूपमा कमजोर, दलित र जेहेन्दार विद्यार्थीलाई लक्षित गर्दै सामग्री वितरण गरिएको एकीकृत हातेमालो समाजका केन्द्रीय अध्यक्ष डिल्लीराम गिरीले जानकारी दिए ।

कतिपय विद्यार्थीलाई किताब कापी हातमै बोकेर विद्यालय आउनुपर्ने बाध्यता थियो,’ गिरीले भने, ‘अब उनीहरूको पठनपाठन सहज हुने विश्वास लिएको छौं ।’ श्री किसान आधारभूत विद्यालय, श्री रामजानकी आधारभूत विद्यालय, श्री देवकोटा आधारभूत विद्यालय, श्री रणपाल विद्यालय, श्री एकता आधारभूत विद्यालय र श्री महेन्द्र आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सामग्री वितरण गरिएको न्यू लाइट फाउण्डेसनका प्रबन्धक आसिफ हसनले जानकारी दिए । ‘किताब कापी हातमा बोकेर आएका ती बालबालिकाले झोलामा सामग्री राखेर फर्किंदा अनुहारमा देखिएको खुसी हाम्रा लागि पनि प्रेरणादायी बन्यो,’ हसनले भने । झोला र सामग्री पाएपछि बालबालिकामा विद्यालयप्रति आकर्षण बढेको देखिएको छ,’ उनले भने, ‘सहयोग गर्ने सबै संघसंस्थाप्रति आभार व्यक्त गर्दछु ।’

झोला वितरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुखाराम भगत, बेलबारी नगरपालिकाकी उपप्रमुख नितु थापा कोइराला, वडा नम्बर ६ का वडा अध्यक्ष डिल्लीबहादुर कटुवालसहित अभिभावक तथा स्थानीय प्रतिनिधिको उपस्थितिमा शैक्षिक सामग्री वितरण गरिएको थियो ।