इटहरी । इस्लाम धर्मावलम्बीका लागि जीवनको पवित्रतम यात्रा मानिने हजका लागि सुनसरीबाट एक सय ८० जना धार्मिक श्रद्धालु साउदी अरेबियाको मक्का मदिना जाने भएका छन् । हज समितिको समन्वयमा आवश्यक तयारी पुरा भई यात्रुहरू अगामी जेष्ठ ३ गते शनिबारदेखि पवित्र भूमि साउदीको मक्का मदिनातर्फ प्रस्थान गर्ने भएका छन् । सुनसरीका हाज यात्रीहरु विभिन्न पाँच चरणमा साउदी अरेबिया प्रस्थान गर्ने जनाएको छ ।

अगामी जेष्ठ ३ गते शनिबार पहिलो चरणमा ५५ जना हज यात्री, एक जना एम्बेस्सीका प्रतिनिधि, २ जना हज समितिका सदस्य प्रतिनिधि काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साउदी अरेबिया प्रस्थान गर्नेछन् । यसैगरी जेष्ठ ४ गते आइतबार एक सय १८ जना हज यात्री, एकजना एम्बेस्सीका प्रतिनिधि र एक जना हजसमितिका सदस्य प्रतिनिधि काठमाडौंबाट साउदी अरेबिया प्रस्थान गर्नेछन् । त्यस्तै, जेष्ठ ५ गते थप ५ जना र जेष्ठ ७ गते बुधबार बिहान थप २ हजको लागि साउदी अरेबिया प्रस्थान गर्ने कार्यतालिका रहेको जनाएको छ । गत वर्ष आवेदन दिएर पनि जान नपाएका र नयाँ आवेदक छनौटमा परेर सुनसरी जिल्लाबाट हज गर्न जानका लागि १ सय ८० जना छनौटमा परेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । गत वर्ष पहिलो जिल्ला बनेको सुनसरी यद्यपि यस वर्ष दोस्रो स्थानमा रहेका छन् । देशभरिबाट दुई हजार बढी आवेदन परेको थियो । देशभरबाट यस १ हजार १ सय ७१ जना हज गर्न जाने भएका छन् ।

हजयात्री काठमाडौँबाट सिँधै साउदीको जेद्दा पुग्ने छ । उनीहरू जुन २० देखि २५ जुन तारिखसम्ममा स्वदेश फर्किने छन् । प्रति हज यात्रीले ३ लाख ७० हजार रुपियाँ तिरेर साउदी जाने गरेका छन् । हज इस्लाम धर्मका पाँच आधार स्तम्भमध्ये एक महत्त्वपूर्ण स्तम्भ हो । आर्थिक, शारीरिक तथा मानसिक रूपमा सक्षम प्रत्येक मुस्लिम धर्मावलम्बीले जीवनमा कम्तीमा एकपटक हज यात्रा गर्नु धार्मिक कर्तव्य मानिन्छ । सुनसरी हज समितिका संयोजक मोजम्मील मियाँ अन्सारीले हज यात्रुहरूको सफल यात्रा तथा सुस्वास्थ्यको कामना गर्दै हजको आध्यात्मिक महत्त्व र सामाजिक सद्भाव सुदृढ गर्न यो अवसर महत्त्वपूर्ण हुने बताइन्छ । यो अवसरले विश्वभरका मुस्लिम धर्मावलम्बीलाई एउटै सूत्रमा बाँध्ने अनुपम उदाहरण प्रस्तुत गर्दै आएको छ ।