भोजपुर | सुशासन, पारदर्शिता र जवाफदेहितामा महत्वपूर्ण उपलब्धि हासिल गर्दै भोजपुर जिल्लाको रामप्रसादराई गाउँपालिका शुन्य बेरुजुको नजिक पुगेको छ। महालेखापरीक्षक को सार्वजनिक ६२ औं प्रतिवेदनअनुसार रामप्रसादराई गाउँपालिका ०.१२ प्रतिशत मात्र बेरुजु देखिएको छ, जुन उल्लेखनीय प्रगति मानिन्छ। महालेखा परिक्षकको कार्यालयले ६२ औं प्रतिबेदन सार्बजनिक गरेको छ। उक्त रिपोर्ट अनुसार कोशी प्रदेशको गाउँपालिकामा यश गाउपालिका न्यून बेरुजुमा प्रथम भएको छ भने कोशी प्रदेशको समग्रमा दोस्रो नम्बरमा रहेकोछ। त्यैसैगरी देश भरिका ७५३ स्थानीय तहमा गाउपालिकाको सुचिमा ६ औं र समग्र देशभरिमा ९ औं स्थानमा रहेको र स्थानीय तह संस्थनगत क्षमता स्वमूल्यांकन (LISA) मा ९३ अंक, स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकन (FRA) मा ८५.५ नम्बरका साथ जिल्लामा प्रथम बनेको छ भने प्राकृतिक स्रोत तथा वित्त आयोगको सम्पादन सुचकमा पनि ६४.५१ सहित जिल्लामा दोस्रो बनेको छ ।
स्थानीय सरकारले नागरिकको ढोका ढोकाबाट सेवा प्रवाह गर्दै आएको छ। स्थायी घरधुरी न्यायिक समितिबाट प्रत्येक वडामा न्याय प्रवाह गरिएको छ भने, नागरिकलाई सुलभ सेवा दिन वडास्तरमै केन्द्रित कार्यालयहरू सञ्चालनमा छन्।
गाउँपालिकाले बालबालिका, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, रोजगारी, पूर्वाधार र प्रशासनिक सुधारका कार्यक्रमहरूलाई प्राथमिकतामा राखेको छ। सबै वडामा सार्वजनिक सुनुवाइ, योजना सम्झौता शिविर, सामाजिक सुरक्षा भत्ता वितरणदेखि लिएर स्वास्थ्य, कृषि, कानुनी साक्षरता, शैक्षिक सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको छ।
गाउँपालिकाले शुन्य बेरुजु बनाउने लक्ष्यसहित रणनीतिक योजना र कार्यविधिहरू तयार पारेको छ। नीति तथा कार्यक्रम तर्जुमा गर्दा जनसहभागिता र उत्तरदायित्वलाई विशेष प्राथमिकता दिइएको छ। कार्यलयगत अनुशासन, पारदर्शिता, सेवा प्रवाहको दक्षता र कर्मचारी क्षमता अभिवृद्धिमा विशेष ध्यान केन्द्रित गरिएको छ ।
गाउँपालिकाले कृषि उत्पादनमा वृद्धि गर्न भण्डारण तथा बजारीकरणका उपायहरू अवलम्बन गरेको छ। स्थानीय जैविक खाँदी प्रणाली, उन्नत बीउ उत्पादन र कृषि उपज संकलन केन्द्र स्थापनाका प्रयासहरू जारी छन्।
त्यसैगरी, शैक्षिक सुधार, विद्यालय स्तरीय व्यवस्थापन र विद्यालयमा अनुशासनयुक्त वातावरण निर्माणमा समेत गाउँपालिकाले सक्रियता देखाएको छ।
रामप्रसादराई गाउँपालिकाको सुशासनमुखी कार्यशैली, शून्य बेरुजुतर्फको अग्रसरता, वित्तीय पारदर्शिता र जनउत्तरदायिता स्थानीय सरकारको राम्रो अभ्यासको उदाहरण बनेको छ। आगामी दिनहरूमा पनि यस्तै प्रभावकारी प्रशासनिक व्यवस्थामार्फत नागरिक सन्तुष्टि अभिवृद्धि गर्ने लक्ष्य गाउँपालिकाको रहेको छ।


