इटहरी । दक्षिणी मोरङको रतुवामाई नगरपालिकाको प्रमुख प्रशासनिक भवन निर्माण अन्तिम चरमा पुगेको छ । लामो समय निर्माण प्रक्रिया रोकिएर पुनः निर्माण थालेको ठेकदार कम्पनीले २०८२ को दशैंमा कार्यालय सर्ने गरी काम गरिरहेको छ । नगरपालिकाका लेखा अधिकृत एवम् सुचना अधिकारी निता सिग्देलका अनुसार हालसम्म ५० प्रतिशत भौतिक प्रगति भएको छ भने ३७ दशमलव २९ प्रतिशत वित्तीय प्रगति भएको छ । अबको काम वाल फिनिसिङ, विद्युत वाइरिङ, धारा जडान, मार्वल विच्छ्याउने मात्र बाँकी छ ।निर्माण कम्पनीले दशैं सम्ममा सक्ने गरी काम गर्ने प्रतिवद्धता जनाएको सूचना अधिकारी सिग्देलले बताउनुभयो ।साविकका महादेवा, झुर्किया, सिंजुवा, इटहरा गाविस पुरै र बरडङ्गा, गोविन्दपुर गाविसका ४(४ वडा मिलेर बनेको रतुवामाई जिल्लाको दक्षिण पूर्वमा पर्ने नगरपालिका हो ।

राज्य पुनसंरचना आयोगले रतुवामाई नगरपालिकाको केन्द्र साविकको सिंजुवा गाविस कार्यालयलाई तोक्यो । नगरपालिका भएपछि वडा नम्बर ७ मा परेको गाविस कार्यालय साँघुरो थियो । सो भवनबाट नगरपालिकाको कार्यालय सञ्चालन गर्न सकिने भएपछि सिंजुवामा नै भाडाको घरमा बस्न थालेको नगरपालिकाको सेवा विगत नौ वर्षदेखि भाडाको घरबाटै चलिरहेको छ । सुरुका ४ वर्ष जग्गा प्राप्तिमा अल्मलिएको नगरपालिकाले २०७८ मा जग्गा प्राप्त गरी भवन निर्माणको प्रक्रिया सुरु गरेको थियो । हाल भाडामा रहेको भवनबाट पश्चिम दक्षिणमा स्थानीय भीमप्रसाद भट्टराई र टेकनाथ भट्टराईले १ विगाहा जग्गा निशुल्क उपलब्ध गराउनु भएको थियो । भट्टराई दाजुभाइले नगरपालिका भवन अन्यत्र नबनाउने सर्तमा जग्गा निशुल्क दिनुभएको थियो । २०७८ भदौ २८ गते नगरपालिकाले निर्माणको टेण्डर प्राप्त गरेको भूमि वीसीपीएल जेभीसँग भवन निर्माणको सम्झौता गरेको थियो ।सम्झौता अनुसार निर्माण कम्पनीले भ्याट सहित ९ करोड ४१ लाख ६४ हजार १७४ रुपियाँमा भवन निर्माण गरी २०८१ को भदौ २५ गते प्रमुख प्रशासनिक भवन नगरपालिकालाई जिम्मा लगाउनु पर्ने थियो ।

डिपीआर निर्माण गर्दा १६ करोड रुपियाँको लागत इष्टमेट तयार भएको थियो । तर घटाघटमा झण्डै ७ करोड रुपियाँ कमीमा ९ करोड ४१ लाख ६४ हजार १७४ रुपियाँमा निर्माण हुने गरी ठेक्का सम्झौता भयो । त्यसबेला ठूलो खर्च जोगिएको भन्दै पालिकाका जनप्रतिनिधिले खुसी प्रकट गरेका  थिए । तर, ठेकदारलेबिच मै काम छोडेर हिँडेपछि ११ महिना काम रोकिएको थियो । नगरपालिकाले मासिक मासिक १ लाख ५२ हजार रुपियाँका दरले वार्षिक १८ लाख २४ हजार रुपियाँ घरभाडा तिर्दै आएको छ । उहाँले निर्माण कम्पनीले हाल तीब्र गतिमा काम गरिरहेकाले दशैं सम्ममा नयाँ भवनबाट सेवा गर्न सकिनेमा आशावादी रहेको बताउनुभयो ।