सुनसरी | सुनसरीको गढी गाउँपालिकामा ज्येष्ठ नागरिकहरूको स्वास्थ्य सुदृढीकरण तथा जीवनस्तर उकास्ने उद्देश्यका साथ दन्त उपहार कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकास्थित औरावनी स्वास्थ्य चौकी गढीमा आयोजित कार्यक्रमले गढीका दर्जनौं ज्येष्ठ नागरिकलाई लक्षित गरी पहिलो पटक निःशुल्क नयाँ दाँत प्रदान गरिएको हो।
कार्यक्रम पूर्व महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री तथा वर्तमान संघीय सांसद भगवती चौधरीको विशेष पहलमा सम्पन्न भएको हो। चौधरीको पहलमा गढी गाउँपालिकाको समन्वय र पूर्वाञ्चल डेन्टल हस्पिटल प्रा.लि. इटहरीको प्राविधिक साझेदारीमा कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा सहभागी भएका ज्येष्ठ नागरिकहरूले आफूहरूका लागि यस किसिमको कार्यक्रम पहिलो पटक भएको प्रतिक्रिया जनाएका थिए।
गढी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख राजेन्द्रप्रसाद यादवका अनुसार कार्यक्रममार्फत सेवाग्राही वृद्धवृद्धाहरूलाई आवश्यक स्वास्थ्य परीक्षण गरी उनीहरूको आवश्यकता अनुसार नयाँ दाँत जडान गरिएको हो। यस कार्यबाट उनीहरूको खाना खाने, बोल्ने र आत्मविश्वासका समस्यामा सुधार आउने अपेक्षा गरिएको छ।
पूर्वाञ्चल डेन्टल हस्पिटलका प्रमुख डा. केशब रिमालले दाँतको गुणस्तर तथा दीर्घकालीन प्रभावबारे जानकारी दिँदै, “यो दन्त उपहारमा हामीले १० वर्ष ग्यारेन्टी हुने खालका दाँत प्रयोग गरेका छौं, जसले वृद्धवृद्धाहरूलाई लामो समयसम्म सहयोग पुर्याउनेछ,” भन्नुभयो।
संघीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, सिंहदरबार, काठमाडौंको सहकार्यमा कार्यक्रम सञ्चालन गरिएको हो। सांसद चौधरीले गाउँ तहमै स्वास्थ्य सेवाको पहुँच पुर्याउनु सरकारको जिम्मेवारी भएको बताउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो।
गढी गाउँपालिकाले स्थानीयस्तरमा ज्येष्ठ नागरिकका लागि स्वास्थ्य केन्द्रित कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएको छ। यस किसिमको कार्यक्रमले समुदायमा सकारात्मक सन्देश पुगेको जनप्रतिनिधि र सर्वसाधारणले बताएका छन्।


