इटहरी । राष्ट्रिय युवा संघ नेपाल, देउमाई नगर कमिटी इलामले देउमाई नगरपालिकाका एक अति विपन्न परिवारका लागि नयाँ घर निर्माण गरी हस्तान्तरण गरेको छ। देउमाई नगरपालिका–३ निवासी तेजबहादुर राईको लागि निर्माण गरिएको घर शनिबार एक विशेष समारोहका बीच हस्तान्तरण गरिएको हो। कार्यक्रम राष्ट्रिय युवा संघका अध्यक्ष विशाल राईको अध्यक्षता र देउमाई नगरपालिकाका प्रमुख सूर्य प्रसाद पोख्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। कार्यक्रममा संघका प्रतिनिधि गणेश रिजालले अन्य अति विपन्न परिवारका लागि पनि यस्ता आवास निर्माण कार्यक्रम विस्तार गरिने जानकारी दिए। यो कार्यक्रम देउमाई नगरपालिका क्षेत्रभित्रका अति विपन्न नागरिकहरूलाई लक्षित गरी सञ्चालन गरिएको हो ।


