इटहरी । सुनसरी जिल्ला अस्पताल, ईनरुवामा उपचारको क्रममा एक बिरामीको मृत्यु भएपछि गठन गरिएको छानबिन समितिले प्रतिवेदन सार्वजनिक गरेको छ । तर, मृतकका आफन्तले प्रतिवेदनप्रति असन्तुष्टि जनाएका छन् । २०८१ चैत १० गते अस्पतालमा उपचार गराइरहेकी राधा कोईरी मेहताको मृत्यु भएपछि उनका छोरा रामचन्द्र मेहताले चिकित्सकको लापरवाहीकै कारण आमाको मृत्यु भएको आरोप लगाउँदै शव बुझ्न अस्वीकार गर्नुभएको थियो  । उहाँले न्याय माग गर्दै अस्पताल प्रशासनसँग कडा कारबाहीको माग गर्नुभएको थियो ।  यसपछि अस्पतालले घटनाबारे छानबिन गर्न समिति गठन गर्दै घटनाको समयमा खिचिएको सिसीटिभी फुटेज अध्ययन गरी सत्यतथ्य बाहिर ल्याउने प्रतिबद्धता जनाएको थियो । तर हालै सार्वजनिक गरिएको छानबिन प्रतिवेदन प्रति रामचन्द्र मेहताले गम्भीर असन्तुष्टि जनाउनुभएको छ । उहाँका अनुसार प्रतिवेदनले वास्तविकता लुकाएको र सबैभन्दा आपत्तिजनक कुरा त घटनाको मुख्य प्रमाणको रूपमा रहेको सिसीटिभी फुटेज नै डिलिट गरिएको हो । उहाँले सिसीटिभी फुटेज नै हटाइएको भन्दै प्रतिवेदन माथि विश्वास गर्न नसकिने बताउनुयभो । स्थानीय बासिन्दाले पनि जिल्ला अस्पतालमा पटकपटक लापरवाही, ढिलासुस्ती र बेवास्ता हुँदै आएको गुनासो गर्दै आएका छन् । उनीहरूले दोषी चिकित्सक तथा कर्मचारीमाथि कडा कारबाहीको माग गरेका छन् । यो घटनाले पुनः एकपटक सरकारी अस्पतालहरूमा सेवा प्रवाह, जवाफदेहिता र पारदर्शितामाथि प्रश्न उठाएको छ ।