इटहरी । सिटी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, इटहरीको आयोजनामा रक्तदान तथा दन्त परीक्षण कार्यक्रम इटहरी नगरपालिकाको कार्यालय अगाडि सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता संस्थाकी अध्यक्ष विष्णु भण्डारी नेपालले गर्नु भएको थियो भने प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी इटहरी उपशाखाका सचिव सञ्जीव ढुंगाना रहनु भएको थियो । कार्यक्रममा सहकारीका सदस्यहरू सहित स्थानीय नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । संस्थाले आफ्नो सुरुवात देखि नै रक्तदान लगायत विभिन्न सामाजिक कार्यहरूलाई विशेष प्राथमिकता दिँदै आएको अध्यक्ष नेपालले जानकारी दिनुभयो । उहाँका अनुसार संस्थाको नियमित कार्यतालिका अनुसार नै यस पटक रक्तदान तथा दन्त परीक्षण कार्यक्रम सञ्चालन गरिएको हो ।  नेपाल रेड क्रस सोसाइटी सुनसरी रक्त संचार सेवा धरानको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा  ७३ जनाले रक्तदान गर्नुभएको कार्यक्रम संयोजक गङ्गा कार्की पौडेलले बताउनुभयो । सहकारीले आगामी दिनहरूमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।