इटहरी । उर्लाबारी मंगलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा कार्यरत दुई जना कर्मचारी ड्युटी समयमा मादक पदार्थ सेवन गरेको अवस्थामा फेला परेपछि तत्काल निलम्बन गरिएको छ। गत बिहीबार राति ड्युटीमा उपस्थित हुनु पर्ने ती कर्मचारीहरू अस्पताल परिसरबाहिर मादक पदार्थ सेवन गरिरहेको अवस्थामा स्थानीय युवाहरूले फेला पारेका थिए। उनीहरूले दुवैलाई नियन्त्रणमा लिएर अस्पताल प्रशासनको जिम्मा लगाएका थिए। नियन्त्रणमा परेकामध्येब एक जना कार्यालय सहयोगी र अर्का जना पारा मेडिक्स रहेको स्रोतले जनाएको छ। मेडिकल सुपरिटेन्डेन्ट डा। रबि शाहका अनुसार दुवै जनालाई तत्काल विभागीय कारबाहीस्वरूप निलम्बन गरिएको हो। ‘घटनाको थप अनुसन्धान भइरहेको छ, व्यवस्थापन समितिको बैठकपछि आवश्यक निर्णय लिइनेछ,’ शाहले जानकारी दिए। अस्पताल प्रशासनले यस्ता गैरजिम्मेवार गतिविधिप्रति शून्य सहनशीलताको नीति लिएको स्पष्ट पार्दै सेवा प्रवाहमा कुनै सम्झौता नहुने जनाएको छ। हाल निलम्बनमा परेका कर्मचारीहरूको नाम गोप्य राखिएको छ।


