सुनसरी | विपन्न तथा निम्न आय भएका समुदायलाई वित्तीय पहुँच पुर्‍याउँदै आएको फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १२औं वार्षिकोत्सव सुनसरीको दुहबी नगरपालिकामा भव्य रुपमा सम्पन्न गरेको छ।

उक्त कार्यक्रममा संस्थाका अध्यक्ष कलावति चौधरीको अध्यक्षता रहँदा, प्रमुख अतिथि रूपमा पूर्व महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री तथा वर्तमान संघीय सांसद भगवती चौधरीको उपस्थितिले कार्यक्रमलाई विशेष बनाएको थियो।

वार्षिकोत्सवमा फरवार्ड माइक्रोफाइनान्सका विभिन्न शाखाहरूका पदाधिकारीहरूलाई "आपको बिरुवा", सम्मानपत्र र खादा-मालाले सम्मान गरिएको थियो। सम्मान कार्यक्रममा उनीहरूको स्थानीयस्तरमा देखिएको समर्पण र उत्कृष्ट सेवाको प्रशंसा गरियो।

कार्यक्रममा संस्थाका कार्यकारी प्रमुख राम दयाल राजवंशीले फरवार्ड माइक्रोफाइनान्सले देशभरका ४० वटा जिल्लामा १६२ शाखा कार्यालयहरू मार्फत २ लाख ४७ हजार सदस्यहरूलाई सेवा पुर्‍याइरहेको जानकारी दिनुभयो। उहाँले संस्थाले महिलाहरूको आर्थिक सबलीकरण, आत्मनिर्भरता र समुदायमा उद्यमशीलता बढाउने कार्यमा विशेष योगदान दिँदै आएको बताउनुभयो।

प्रमुख अतिथि सांसद भगवती चौधरीले लघुवित्त संस्थाहरूले गरिब तथा विपन्न वर्गलाई बचत, कर्जासुविधा, उद्यम विकास, वित्तीय साक्षरता र सामाजिक सचेतनामा महत्वपूर्ण भूमिका खेलिरहेको उल्लेख गर्नुभयो। उहाँले यस्ता संस्थाहरूको दिगो विकासका लागि नीति तथा बजेटमा विशेष प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो।

कार्यक्रममा गढी गाउँपालिकाका अध्यक्ष आश नारायण चौधरी, इलाका प्रहरी कार्यालय दुहबीका डिएसपी सागर तिम्सिना, संस्थाका नायब कार्यकारी प्रमुख कृष्ण प्रसाद भट्टराई, तथा अन्य विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, समाजसेवी, महिला समूहका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रम सञ्चालन फरवार्ड माइक्रोफाइनान्सकी मानव संसाधन प्रमुख हिरा थन्दारले गर्नु भएको थियो। उहाँले सम्पूर्ण अतिथि, सहभागी, कर्मचारी तथा सदस्यहरूलाई धन्यवाद ज्ञापन गर्दै संस्थाले आगामी दिनमा अझ प्रभावकारी सेवा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

यस प्रकारको कार्यक्रममा समुदायस्तरमा सकारात्मक सन्देश फैलिएको भन्दै सहभागीहरूले संस्थाको आगामी यात्रामा अझ बढी सफलता र योगदानको कामना गरेका थिए।