इटहरी लेडिज जेसिजको आयोजनामा प्राथमिक उपचार सम्बन्धी दुई दिने आधारभूत तालिम सम्पन्न भएको छ । इटहरी लेडिज जेसिजको आफ्नै भवनमा सम्पन्न भएको तालिम कार्यक्रमको अध्यक्षता संस्थाकी अध्यक्ष लक्ष्मी बरालले गर्नु भएको थियो भने, प्रमुख अतिथिका रुपमा इटहरी रेडक्रस शाखाका अध्यक्ष दिनेश भट्टराई रहनुभएकोे भएको थियो । तालिममा इटहरी उपमहानगरपालिकाका प्रत्येक वडा कार्यालय सँग समन्वय गरी दुई जना बढी सहभागी रहने व्यवस्था गरिएको थियो । समुदायस्तरमा आपत्कालीन अवस्थामा आवश्यक प्रारम्भिक उपचार सेवा प्रदान गर्ने सीप अभिवृद्धि गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको इटहरी लेडिज जेसिज अध्यक्ष लक्ष्मी बरालले बताउनु भएको छ । सुनसरीको ठाउँमा अहिलेको अवस्थामा प्रथमिक उपचार सँग सम्बन्धित आधारभुत तालिम अत्यवस्यक भएको र इटहरी रेडक्रस शाखाले गर्नु पर्ने काम लेडिज जेसिज बाट भएको इटहरी रेडक्रस शाखाका अध्यक्ष दिनेश भट्टराईले बताउनुभयो । तालिममा प्रमुख प्रशिक्षकको रूपमा वडा नं. ३ का अध्यक्ष उमेश सुवेदी स्वयं सहभागी हुनु भएको छ भने प्रशिक्षक राम पाठक र विवेक चापागाईंले तालिम सञ्चालनमा सहजीकरण गर्नु भएको हो । कार्यक्रमको संयोजन इटहरी लेडिज जेसिज संघकी संयोजक उषा पौडेलले गर्नुभएको थियो । तालिमको क्रममा सहभागीहरूले प्राथमिक उपचारका सैद्धान्तिक ज्ञान सहित व्यावहारिक अभ्यासका माध्यमबाट विभिन्न स्वास्थ्य आपतकालीन अवस्थाहरूमा आवश्यक पहल, प्राथमिक उपचार विधि, र सुरक्षाका उपायहरू सिकेको कार्यक्रमको संयोजक उषा पौडेलले बताउनु भएको छ । तालिममा लेडिज जेसिजसँग आबद्ध व्यक्तिहरु, रेडक्रससँग सम्बन्धित व्यक्तित्वहरु तथा तालिममा सहभागीहरुको उपस्थितिमा तालिमको समापन भएको हो ।

