इटहरी । हाल रिडी पावर कम्पनी लिमिटेडको स्वमित्वमा रहेको इँवाखोला जलविद्युत आयोजनाको उत्पादन चार दिनदेखि बन्द भएको छ। आयोजनाको विद्युत गृहमा समस्या आएसँगै चार दिन अर्थात गएको बिहीबार रातिदेखि विद्युत उत्पादन बन्द भएको हो। ताप्लेजुङ र पाँचथरको सिमाना भई बग्ने इन्द्रावती खोलाबाट उत्पादित जलविद्युत आयोजनाको विद्युत गृहमा रहेको विभिन्न उपकरणमा समस्या आएका कारण उत्पादन बन्द हुन गएको हो। कुल ९।९ मेगावाट क्षमताको जलविद्युत आयोजनाबाट हाल उत्पादन ठप्प भएको छ। विद्युत गृहको उपकरणहरुमा समस्या आएदेखि नै मर्मत तथा नयाँ सामग्री झिकाएर जडान तथा व्यवस्थापनको काम भइरहेको आयोजनाले जनाएको छ। केही दिनभित्रै मर्मत तथा उपकरणका सामग्री जडानको काम सम्पन्न हुने र विद्युत उत्पादनले निरन्तरता पनि आयोजनाले जनाएको छ। हाल खोलामा पानीको मात्रा बढ्दै गएको र यो समय आयोजनाबाट पूर्ण क्षमताको विद्युत उत्पादन हुने बेलामा समस्या आएर बन्द हुन पुगेको आयोजनाले जनाएको छ। आयोजना मर्मत तथा उपकरण जडानको काम सकिनासाथ उत्पादन सुरु हुने आयोजनाले जानकारी दिएको छ। तत्कालीन रैराङ हाइड्रोपावर कम्पनीको प्रवद्र्धनमा जलविद्युत आयोजना निर्माण गरिएको हो। गत वर्षको वर्षात याममा आयोजनामा बाढी पहिरोले क्षति गर्दा तीन÷चार महिनासम्म उत्पादन ठप्प भएको थियो। बाढी पहिरोले क्षति गरेको संरचना करोडौ रुपियाँको लागतमा पुनर्निर्माण गरी सञ्चालनमा ल्याइएको रिडी पावर कम्पनी लिमिटेडले जनाएको छ।