इटहरी । अर्जुनधारा नगरपालिकाको बिरिङ खोलामा दुई वर्षअघि बाढीले भासिएको पक्की पुल अझैसम्म निर्माण हुन सकेको छैन। झापा जिल्लाको विर्तामोडबाट अर्जुनधारा हुँदै इलामको माइ नगरपालिका जोड्ने उक्त पुल अहिले पनि जिर्ण अवस्थामा छ, जसमा स्थानीयहरू साना सवारीसाधन जोखिम मोलेर सञ्चालन गरिरहेका छन्। स्थानीय बासिन्दा मेघराज रम्तेल भन्छन्, “पहिलो वर्ष त बजेट थिएन होला भनेर चित्त बुझायौँ, तर दोस्रो वर्ष पनि पुल नबन्दा अब साँच्चै चिन्तित भएका छौँ।”
बर्खायाममा पुलमा सवारी आवागमन बन्द हुने गरेको र खोलाको सतह नै पुलभन्दा माथि जान थालेपछि त्यसले अझै ठूलो खतरा उत्पन्न गर्ने स्थानीयको भनाइ छ।पुलको छत भासिएर खोलामा पुगेपछि अब त्यस स्थानमा नयाँ पक्की पुल निर्माण गर्नुपर्ने माग चर्किंदै गएको छ। अर्जुनधारा नगरपालिकाका सूचना अधिकारी हेमराज सेढाईले नयाँ पुल निर्माणका लागि संघीय सरकारसँग अनुरोध गरिएको जानकारी दिए। “सभामुख देवराज घिमिरे र भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहालले पनि पुलको अवस्था अवलोकन गर्नुभएको छ,” सेढाईले भने, “अब आउने आर्थिक वर्षको बजेटमा पुल समावेश हुने आशा गरेका छौं।”
उनले नगरपालिकाको स्रोतले नयाँ पुल बनाउने अवस्था नभएकाले संघीय सरकारको पहल कुर्नु परेको बताए।उनका अनुसार पुरानो पुल भासिएपछि मर्मत सम्भव नरहेकोले नयाँ निर्माण आवश्यक छ। पुल निर्माणको पहल अझै अल्झिरहँदा, स्थानीय जनजीवन भने निरन्तर जोखिममा परेको छ।


