इटहरी । इटहरी उपमहानगरपालिका वडा नम्बर २० मा रहेको खानेपानीको ट्युबेलको मोटरको क्वाइल जलेपछि विगत तीन दिनदेखि खानेपानी आपूर्ति पूर्ण रूपमा अवरुद्ध भएको छ। यस समस्याका कारण इटहरीका वडा नम्बर १, १९ र २० का झण्डै ३,२०० घरधुरीमा बसोबास गर्ने १०,००० भन्दा बढी सर्वसाधारण प्रभावित भएका छन्। तरहरा खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष केशर प्रधानका अनुसार खानेपानी ट्यांकीमा पानी पठाउने दुईवटा मोटरमध्ये एउटाको क्वाइल जलेपछि अर्को मोटरले पनि काम गर्न नसकेको कारण आपूर्ति ठप्प भएको हो। उनले प्राविधिकसँग समन्वय गरी क्वाइल निर्माणको काम सुरु गरिएको र चाँडै आपूर्ति पुनः सञ्चालन हुने आश्वासन दिए । उनले समस्या छिट्टै समाधान हुने दाबी गरे पनि प्राविधिक स्रोतले भोलिसम्म आपूर्ति सहज हुने जनाएका छन्।