मोरङ : सुन्दर हरैंचा–ठडियामा घृत कौशिक गोत्र सुतार कार्की कुल समाजको आयोजनामा देवाली तथा कुल पूजा कार्यक्रम सम्पन्न गरिएको छ ।

घृत कौशिक गोत्रअन्तर्गत पर्ने सुतार कार्की समुदायका देशभरका दाजुभाइहरूको उपस्थितिमा देवाली गरिएको हो । वि.सं. २०७१ सालदेखि संस्था दर्ता गरी औपचारिक रूपमा देवाली मनाउन थालिएको सुतार कार्की कुल समाजले हरेक तीन वर्षमा भेला गरी देवाली आयोजना गर्दै आएको छ । समाजले आफ्नै जग्गा र संरचना निर्माण गरी कार्यक्रम आयोजना गर्न सफल भएकाले यसपालिको देवाली कार्यक्रम विशेष रूपमा ऐतिहासिक मानिएको छ ।

 हालसम्म समाजका दाजुभाइहरूको एकताको प्रतीकस्वरूप १० कठ्ठा जग्गा खरिद गरिएको छ । केही दाजुभाइहरूको व्यक्तिगत तथा सामूहिक सहयोगमा स्थायी संरचना निर्माण कार्य प्रारम्भ भइसकेको र प्रदेश सरकारसँग प्रदेशस्तरीय बजेट माग गरिएको घृत कौशिक गोत्र सुतार कार्की कुल समाजका प्रथम अध्यक्ष मोहन कार्कीले बताउनु भएको छ ।

 समाजका सम्पूर्ण दाजुभाइहरूलाई एकत्रित गराउँदै समृद्ध समाज निर्माणको अभियानमा निरन्तर लागिरहेको जानकारी दिदै, यस्तो आयोजनाले आपसी सम्बन्ध अझ बलियो बनाउने विश्वास सुतार कार्की कुल वंश प्रतिष्ठानका अध्यक्षले कृष्ण बहादुर कार्कीले व्यक्त गर्नु भयो ।

 हालसम्म बनेको संरचनालाई आगामी दिनमा अझ सुदृढ र व्यवस्थित बनाउने र नयाँ संरचना निमार्ण गर्न प्रम बहादुर कार्कीले प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

देवाली हरेक तीन वर्षमा आयोजना गरिने परम्परा कायम राख्दै यसपालि पनि गरिएको र  समाजले आफ्नै भवन निर्माण गर्न सफल भएको समाजका अध्यक्ष दीपक कार्कीले बताउनु भएको छ ।

८६ घरपरिवारको सहभागिता रहेको र करिब ३०० जना दाजुभाइ तथा अतिथिहरूको सक्रिय उपस्थितिमा कार्यक्रम सम्पन्न भएको जानकारी प्राप्त भएको छ । 1747671455105