इटहरी । ताप्लेजुङमा छुट्टाछुट्टै दुई विद्यालयमा अध्ययनरत चार सय बढी विद्यार्थीको आँखा परीक्षण गरिएको छ। मैवाखोला गाउँपालिकाको नारायणी माध्यमिक विद्यालय र फक्ताङ्लुङ गाउँपालिकाको सिँवा माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीको आँखा परीक्षण गरिएको हो। मैवाखोला गाउँपालिका स्वास्थ्य शाखाका अनुसार सोमबार नारायणी माविमा अध्ययनरत १५५ जना विद्यार्थीको आँखा परीक्षण गरिएको छ। उक्त सङ्ख्यामध्ये ९५ जना छात्रा र ६० जना छात्र छन्।आँखा परीक्षणका क्रममा समस्या देखिएका नौ जना विद्यार्थीलाई चस्मा वितरण गरिएको गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिनुभयो ।
जिल्लास्थित नेपाल नेत्र ज्योति सङ्घ, डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रको समन्वय र गाउँपालिकाको आर्थिक व्यवस्थापनमा विद्यालयमै पुगेर विद्यार्थीको आँखा परीक्षण गरिएको हो। पालिकाका सबै विद्यालयमा शिविर सञ्चालन गरी विद्यार्थीको आँखा परीक्षण गरिने गाउँपालिका अध्यक्ष वनेमले जानकारी दिनुभयो। डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका काजी थेबेसहित प्राविधिक जनशक्तिको संलग्नतामा विद्यार्थीको आँखा परीक्षण गरिएको हो । आइतबार सिँवा माविमा अध्ययनरत करिव २५० विद्यार्थीको आँखा परीक्षण गरिएको छ। पाथीभरा बहुमुखी क्याम्पसको सामुदायिक पहुँच कार्यक्रमअन्तर्गत विद्यालयमा शिविर आयोजना गरी विद्यार्थीको आँखा परीक्षण गरिएको हो। विद्यालयका प्रधानाध्यापक ओमनाथ गौतमका अनुसार करिव २५० जना विद्यार्थीको आँखा परीक्षण गरिएको छ । निःशुल्क आँखा परीक्षण तथा सामूहिक मनोसामाजिक मनोविमर्श कार्यक्रम आयोजना गरी सेवा प्रवाह गरिएको पाथीभरा क्याम्पस सञ्चालन समिति अध्यक्ष शिला इजमले जानकारी दिनुभयो ।
सिँवामा पनि डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रकै क्षेत्र कार्यकर्ता थेबे लगायतका प्राविधिक जनशक्तिले आँखा परीक्षण सेवा प्रदान गर्नुभएको थियो। यता आँखा परीक्षण सेवासँगै मनोसामाजिक विमर्शसमेत गरिएको पाथीभरा बहुमुखी क्याम्पसले जनाएको छ।

