इटहरी । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले वडा–वडामै पुगेर राष्ट्रिय परिचयपत्र वितरण गरेको छ। गाउँपालिकाले राष्ट्रिय परिचयपत्र बनेर आएका लाभग्राहीलाई वडा–वडामा वितरण गरेको हो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुनन्दन मेहताका अनुसार पाँचवटा वडामध्ये प्रशासकीय केन्द्र रहेको वडा नम्बर ३ हाङ्पाङबाहेक अन्य चार वटै वडामा पुगेर लाभग्राहीलाई राष्ट्रिय परिचयपत्र वितरण गरिएको हो। वडा नम्बर १ निघुरादिन, वडा २ फूलबारी र वडा नम्बर ४ र ५ चाँगेमा यसअघि विवरण भरेका लाभग्राहीमध्ये राष्ट्रिय परिचयपत्र प्राप्त भएकाहरुको कार्ड वितरण गरिएको छ।

गाउँपालिकामा प्राप्त भएका परिचयपत्र लाभग्राहीको घर आँगनबाटै वितरण गर्ने योजनाअनुसार प्रत्येक वडामा पुगेर राष्ट्रिय परिचयपत्र वितरण गरेको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका अनुसार प्रत्येक वडामा एक–एक दिन शिविर नै सञ्चालन गरेर लाभग्राहीलाई राष्ट्रिय परिचयपत्र वितरण गरिएको हो। वडामा राष्ट्रिय परिचयपत्र बुझ्न छुटेकालाई गाउँपालिका कार्यालयबाट वितरण गरिने पनि गाउँपालिकाले जनाएको छ।