इटहरी उपमहानगरपालिका प्रमुखलाई अपिल
आदरणीय नगर प्रमुखज्यु
विगत केही समययता विभिन्न सञ्चार माध्यम र इटहरीवासी नागरिकका सन्जालका भित्तामा इटहरी उपमहानगरपालिकाको यथार्थ अवस्थालाई दर्शाउदै विभिन्न विचार, टिका टिप्पणीहरु आइरहेका छन् । आम इटहरीवासीमा आफ्नो नगरप्रति चासो र चिन्ता स्वभाविक हो ।
वास्तवमै इटहरी उपमहानगरपालिका यति बेला हरेक हिसाबले संक्रमणकालिन अवस्थाबाट गुज्रिरहेको छ । आर्थिक सहयोग वितरणको नाममा आर्थिक अनुशासनको गम्भीर उल्लंघनका कारण आजको अवस्था उत्पन्न भएको हो ।
आ.व. २०८०÷०८१ मा उपभोक्ताहरुबाट सम्पन्न भएका योजनाहरुको हालसम्म पनि भुक्तानी भएको छैन, दिवा खाजाको भुक्तानी नपाएर ठेकेदार प्रताडित भएको अवस्था छ । कैयौं निर्माण व्यावसायी भुक्तानी नपाएर ब्याजले डुबिसकेका छन् । जिन्सी शाखाबाट खरिद गरिएका विभिन्न सामाग्रीहरुको भुक्तानी भएको छैन । त्यसै पनि जिन्सी सामाग्रीको वितरणमा पारदर्शीता छैन । नगरले खरिद गरेका विभिन्न सवारी साधनको भुक्तानी नभएर व्यावसायीको रुवाबासी चलेको छ ।
चालु आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम र बजेट रातो किताबमा मात्रै सिमित हुने अवस्थामा छ । भुक्तानी दायित्व दिन प्रतिदिन बढेको बढ्यै यो आर्थिक वर्षको अन्त्यसम्ममा सवा १ अर्ब पुग्ने अनुमान छ । चालु खर्च अनियन्त्रित तवरले भइरहेको छ । अर्कोतर्फ पुँजिगत खर्च १५% पनि हुन नसक्ने पक्का पक्की भएको छ । नीतिगत रुपमा बजेट उत्पादनभन्दा पनि वितरणमुखी भएको छ । अझ सारमा प्रष्ट भाषामा भन्नुपर्दा बजेट सैद्धान्तिक हिसाबले असफल भैसकेको छ ।
पालिकामा बेरुजुका चाङ छन् । नागरिकमा सुशासनको प्रत्याभूति छैन । पालिका भ्रष्टाचारको दलदलमा भाँसिदै छ र भ्रष्टाचारमा लिप्त कर्मचारी पुरस्कृत भएको दृष्टान्त स्थापित भएको छ । उपमहानगरपालिका कार्यालय, इटहरी अस्पताल आदिलाई भर्तीकेन्द्र बनाइएकोछ । अनावश्यक कर्मचारीको भिड जम्मा गरिएको छ । जसले उपमहानगरपालिकालाई आर्थिक बोझ थपेका छन् । तलब पनि दिन नसक्ने अवस्था उत्पन्न भएको छ, जुन इटहरीको इतिहासमा कहिल्यै भएको थिएन । अघिल्लो पटक द्वारिकलाल चौधरी मेयर भएको समयमा गाउँ गाउँ बाटो पुग्ने गरी बहुवर्षिय योजना चलिरहँदा पनि यस्तो समस्या भएको थिएन ।
नगरवासीका समस्या ज्युका त्युँ छन् । समाधानका निम्ति सरकार प्रमुख भेटिदैनन् । खासमा नगरवासीका समस्यामा स्थानीय सरकार वेपरवाह छ । न सार्वजनिक सुनुवाई गरेर जवाफदेहिता नै देखाउन सकेको छ । नेतृत्व भागिरहेको अनुभुती भएको छ । नागरिक प्रती सरकार गैरजिम्मेवार भएको नगरवासीले महसुस गरिएको छ । इटहरी सरकारप्रति नगरवासीको भरोसा टुट्दै गैरहेको छ ।
अब के त ?
यसको मतलब सबै डुबिसक्यो, बर्बाद भैसक्यो, सुधार्न सकिन्न भन्ने पनि होइन । पालिकालाई पुर्ववत अवस्थामा फर्काउन सकिन्छ । त्यसको लागि सबैभन्दा पहिले नेतृत्वले विगतको गम्भीर समिक्षा गर्नुपर्छ । गरेका कमि कमजोरी स्विकार्नुपर्छ र सच्याउनुपर्छ ।
बलियो र दृढ संकल्पसहित सामुहिकताको भावना राखेर पालिकाको यथार्थ परिस्थितिलाई बुझेर नितिगत व्यवस्थाका साथ अघि बढे इटहरी उपमहानगर पालिकालाई फेरि पनि लयमा फर्काउन सकिन्छ । यस दिशातर्फ अघि बढ्न म आदरणीय नगरप्रमुख ज्युलाई सुझाव दिन चाहन्छु ।
नेपाली काङ्ग्रेसको नगर सभापतिका रुपमा यहाँको असफलता म आबद्ध पार्टीको सफलता त होला तर एउटा नगर प्रमुखका हिसाबले यहाँको असफलता सिङ्गो नगरको र नगरवासीको असफलता हो । एउटा जिम्मेवार प्रमुख दल त्यो पनि मुख्य सत्ता साझेदार दलको अध्यक्षको हिसाबले यहाँलाइ होचो देखाएर आफू अग्लिने अनि आफ्नो राजनितिक स्वार्थसिद्धीको लागि २ लाख इटहरी बासीको भविष्यलाई दाउमा किमार्थ राख्नु हुदैन भन्ने राजनितिक चेत र संस्कार बोकेरै आएका हँु । त्यस कारण पनि अब ढिला नगरी सच्चिएर अघि बढ्न आग्रह गर्छु । किनकी तपाई नसच्चिने हो भने त्यसको असर उपमहानगरपालिकाले नै भोग्ने हो । इटहरीवासीले नै भोग्ने हो ।
२०६२÷०६३ को शान्तिपुर्ण जनआन्दोलनपश्चात् जारी भएको संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान २०७२ को सफल कार्वान्यनमार्फत् संविधानलाई संस्थागत गर्ने समयमा हामी छौं । संविधान जारी भएको १० वर्षको यो अवधिमा यसको आवधिक समिक्षासहित संविधानलाई कसरी सुदृढ र परिस्कृत बनाउने भन्ने विषयमा बहस र छलफल भैरहेका छन् । नागरिकको अपेक्षाअनुसार इमान्दारीतापुर्वक काम गर्न सकेमात्र संविधान संस्थागत र व्यवस्था मजबुत हुन्छ । र यो हुनै पर्छ । अर्को विकल्प छैन । नगरवासी जनतालाई निराश बनाउने, संविधानको मर्म विपरित काम गरि व्यवस्था कमजोर बनाउने छुट छैन आदरणीय नगरप्रमुख ज्यु ।
नेकपा एमालेको भूमिका
मैले आफ्नो विचार यसरी प्रकट गरिरहँदा नैतिक हिसाबले मै माथी पनि प्रश्न उठ्छ, म स्विकार्छु । महसुस गर्छु । प्रश्न यो पनि उठ्छ कि इटहरी सरकारमा एमालेको बहुमत । म एमालेको नगर कमिटि अध्यक्षका हिसाबले मैले इटहरीवासीलाई यसको जवाफ दिनैपर्छ, बुझाउनै पर्छ ।
संविधानले स्थानीय सरकारलाई धेरै अधिकार प्रत्यायोजन गरेको छ । कार्यपालिका, व्यस्थापिका र न्यायपालिकासँग सम्बन्धित अधिकारकोसमेत अभ्यास र प्रयोगको अधिकार छ । यो एउटा स्थिर र बलियो सरकार हो । अझ स्पष्ट भाषामा भन्नुपर्दा यो प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको अवधारणाअनुसारको सरकार हो । चुनिएका जनप्रतिनिधिको बहुमतले नगर प्रमुख र उपप्रमुख चुन्नेहैन । सिधै मन परेको व्यक्तिलाई जिताउने व्यवस्था हो ।
त्यसैले स्वभाविक रुपले यसमा बहुमत र अल्पमतको त्यति अर्थ हुँदैन । बहुमत र अल्पमतको प्रयोग कार्यपालिका बैठक र नगरसभामा हुन्छ । नगर प्रमुखले गर्ने दिनानुदिनको कामलाई बहुमतले छेक्न सक्दैन । कार्यकारी अधिकार विहिन बहुमतले कार्यकारी अधिकार सहितको अल्पमतलाई रोक्न नसकेको अवस्था इटहरीमा पनि लागु भएको हो ।
आज इटहरीमा कार्यपालिका बैठक नबसेको ६ महिना भन्दा धेरै भैसक्यो । यो आर्थिक वर्षको हिउँदे अधिवेशनसमेत आह्वान गरिएन । कार्यपालिका बैठकमा भए पो बहुमतको कुरा हुन्छ । कार्यपालिका बंैठक नै नबसे बहुमत कहाँ गएर देखाउने ? दैनिक काम त नगर प्रमुखले नै गर्ने हो ।
त्यसमाथि यो पालिका नगरसभा र कार्यपालिकाको निर्णयभन्दा प्रमुख र हाकिमको टिप्पणी अनि तोक आदेशले चलेको छ । स्थानिय सरकार संचालन ऐनको धज्जि उडाइएको छ । अनि एमालेको बहुमत भनेर दोष दिएर हुन्छ ?
यति भन्दै गर्दा आफ्ना तर्फका जनप्रतिनिधिहरुको एउटै कमजोरी छैन भनेर भन्दिनँ म । छन् कमजोरी । स्विकार्छु र सच्याउने प्रयास र प्रतिबद्धता पनि व्यक्त गर्दछु । तर प्रमुखले झन् जिम्मेवार बन्नुपर्छ धेरै सच्चिनुपर्छ आफुलाइ सच्याउनुपर्छ । किनकी वडाध्यक्ष, सदस्यलाई काम गर्न सजिलो बनाइदिने भुमिका पनि नगरप्रमुखकै हो । त्यसैले नगरप्रमुख सही, इमान्दार भए, विकास तथा सुशासनप्रति प्रतिबद्ध भएमात्र नगर सही दिशामा जान्छ । नेतृत्वले नचाहेसम्म बहुमतले मात्र चाहेर केही गर्न सकिँदैन ।
फेरी पनि दोहोर्याउँछु, बहुमतले निर्णय गर्ने र बहुमतको शक्ति देखाउन सकिने भनेको कार्यपालिका, नगरसभा मात्र हो । टिप्पणी र तोक आदेशका भरमा अनियमित तरिकाले खर्च गर्नेलाई सुझाव दिन, असहमती जनाउन र विरोध गर्न मात्र सक्छौं ।
कुनै व्यक्तिले होइन, नगरले जितोस्
आदरणीय नगर प्रमुख ज्यु,
तपाईं सामाजिक सन्जाल मैत्री, प्रेमी हुनुहुन्छ सबैलाइ थाहा छ । तर त्यसको पनि एउटा सिमा हुन्छ । धेरै भयो भने फोबिया हुन्छ । हरेक पोस्टको कमेन्ट र रियाक्ट हेर्नू र त्यसको जवाफ फर्काउन जरुरी छैन । २ वर्ष देखि भुक्तानी नपाएर मर्नु भएका व्यापारी, उपभोक्ता समितिले भुक्तानीका लागि संजालमा लेखेका पोस्टमा जवाफ फर्काएर दोहोरी खेल्नु कम्तिमा त्यो सम्मानित पदको गरिमालाई सुहाउदैन !
सामाजिक सञ्जालमा आफ्नो आवेग पोख्न बाध्य पनि तपाईले नै बनाउनुभएको हो । जनताको कुरा राख्ने ठाउँ कहाँ हो त ? तपाई कार्यालयमा पनि हतपति भेटिनुहुन्न । सार्वजनिक सुनुवाई त भएकै छैन । जनतासँग सिधा फेस गर्न तपाईले सक्ने अवस्था नभएर पनि होला । त्यसैले जनतासँग तपाईको सिधा सम्पर्क त्यही सामाजिक सञ्जाल र टिकटकमा हुने भएकोले पनि नगरवासीले सामाजिक सञ्जालबाटै गुनासो राखेका हुन् । कम्तिमा तपाईसम्म ती कुरा पुगोस् ।
यस्ता प्रश्नलाई तपाईले दलीय पुर्वाग्रह भनेर जुन आक्षेप लगाउनुभएको छ, त्यो बिलकुल गलत छ । गलतलाई गलत भन्ने नगरवासीलाई दलीय आरोप लगाएर भ्रम छर्ने तपाईको प्रयासलाई नगरवासीले बुझेका छन् । एकछिनको लागि तपाई चोखिन सक्नुहोला, तर नगर चोखिँदैन । झट्ट हेर्दा तपाई ठूलो बन्नुहोला, तर नगर बन्दैन । यहाँ कुनै व्यक्तिले जित्ने होइन, नगरले जित्नुपर्छ ।
अर्को कुरा, ‘करोडौको बहुवर्षे योजनाको भारी बोकेर हिडिरहेको छु, संघीय सरकारबाट पैसा आएन त्यसैले समस्या भयो’ भन्ने तपाईको भनाई हाँस्यास्पद छ । तिर्नुपर्ने दायित्व, गर्नुपर्ने खर्च अनि आम्दानीको लेखाजोखा गर्न नसक्ने, आकारले ठूलो तर भित्र खोक्रो बजेट बनाउने, योजनाभन्दा बाहिर गएर अनियमित खर्च गर्ने, मनलाग्दी कर्मचारी भर्ती गरेर तलब, भत्ता, इन्धनमा करोडौं सक्ने अनि बहुवर्षे योजनालाई दोष दिने ? तपाई आएपछि चालु खर्च बढ्ने गरी कति कर्मचारी राख्नुभयो ? कुन शीर्षकमा चालु खर्च कति घट्यो, बढ्यो, नगर परिसरमा थुप्रिने गरी कति सवारी किन्नुभयो, सार्वजनिक गर्न सक्नुहुन्छ ? ठूला आयोजनाहरुका लागि संघीय सरकारबाट बजेट ल्याउन नसक्नु तपाईको कमजोरी होइन ? अनि तपाईको असक्षमताको भागिदार उपभोक्ता, ठेकेदार, व्यवशायीहरुलाई बनाउने ? तपाईको कारण विकास ठप्प भएको छ, त्यसको जिम्मा नलिने ?
विकासका कुरामा एमाले जनप्रतिनिधिले कहिल्यै अवरोध गरेका थिए ? एमाले जनप्रतिनिधिहरुले त क्षमताभन्दा ठूलो र खोक्रो बजेट नल्याऔं, कर अत्याधिक नबढाऔं, ओएनएम गरेर मात्र कर्मचारी भर्ती र सरुवा गरौं, कार्यपालिकामा निर्णय गरेर खर्च गरौं भनेर भनेका हुन् । हामी विधि, पद्धती र सुशासनका लागि लागिरहने, तपाई सुन्दै नसुनी मनोमानी गरेर हिडिरहने । अनि भड्खालामा परेपछि कहिले संघीय सरकारलाई दोष दिने, कहिले सामाजिक सञ्जालमा प्रश्न सोध्ने नगरवासी, व्यापारीलाई गाली गर्ने, अनि काम गर्न दिएनन् भनेर एमाले जनप्रतिनिधिहरुलाई दोष दिने तपाईको शैलीले नगर बन्दैन । यो बोलेर होइन, काम गरेर जित्ने बेला हो । सवाल जवाफमा तपाईले त जित्नुहोला, तर जनअपेक्षाअनुसार काम नगरे नगरले हार्नेछ ।
वास्तवमा इटहरीको बेइज्जत ती गुनासाकर्ता, प्रश्नकर्ताहरुले होइन, तपाईले गरिरहनुभएको छ । प्रश्न र गुनासोले त लोकतन्त्रलाई, सरकारलाई अझ जिम्मेवार बनाउँछ । र त्यो आवश्यक छ । नगरवासीको कुरा सुन्न र उनीहरुको भावनाअनुसार काम गर्नकै लागि तपाइ त्यहाँ पुग्नुभएको हो । अहिले असन्तुष्ट नगरवासीको कुरा सुन्न किन सकिरहनुभएको छैन ? असन्तुष्टीलाई किन षड्यन्त्र भनेर व्याख्या गरेर वेवास्ता गरिरहनुभएको छ ? गुनासा र असन्तुष्टीहरुलाई यसैगरी फेसबुके जवाफ मात्र दिएर पुग्छ ?
अनेकन बहाना बनाउने, सञ्जालबाटै धम्क्याउने तपाईको शैलीले नगरवासीलाई कत्ति पनि कन्भीन्स गर्न सक्दैन । किनकी सबै कुरा सबैको आँखा अगाडी छर्लंग छ । त्यसैले कृपया आफूलाई सच्याउनुहोस् । हिजो जे भयो, अब बाँकी रहेको दुई वर्षे कार्यकाल सच्चिन्छु भनेर प्रतिबद्धता जनाउनुहोस् । नगरवासीमा आशा जगाउने केही गर्नुहोस् ।
एमालेबाट नगरप्रमुख भएको अघिल्लो कार्यकालमा एउटा सामान्य विषयलाई लिएर मेयरको कुर्सी जलाउँछौं भन्दै धम्की दिने, मेयरको कार्यकक्षमा ताला लगाउने कार्य गरियो । अहिले त त्यो बेलाको भन्दा जर्जर र भताभुङ्ग परिस्थिती छ । तर हामी विगतको त्यो घटनाको पुनरावृत्ति गरि गैरजिम्मेवार बन्न चाहदैनौ । किनकी त्योबेला कुनै दल विशेषको राजनितिक स्वार्थ पुरा गर्नु थियो । तर अहिले हामीलाई व्यवस्था जोगाउनु छ । नगर बनाउनुछ ।
जनमतले दुई दलको संयुक्त सरकारलाई मिलेर नगरको विकासका निम्ति काम गर्न पठाएको हो । एकले अर्कोलाई दोषी देखाएर जिम्मेवार ठह¥याएर उन्मुक्ति मिल्नेवाला छैन । तपाई वा म वा अरु कोही कसैलाई नराम्रो देखाएर नगर राम्रो हुने होइन ।
त्यसकारण फेरी पनि आग्रह गर्छु, फर्किनुस् इटहरी । कार्यकक्षमा बस्नुहोस् र आफूले बिगारेको थितीलाई आफैले सुधार गर्नुहोस् । मेयरलाई बाहिर राखेर बहुमतले सुधार गर्न सकिने भएको भए हामी सुधारीसक्थ्यौं । समस्याबाट भाग्ने हैन सामना गर्ने हो । ढोका थुनेर बहस गरौँ ।
आआफ्नो भागको कमजोरी स्वीकारौँ र सुधारको भारी बोकौँ । नगरवासीको सपनाको भारी बोकौं । सच्चियौँ हामी सच्चियौं भने मात्र इटहरीले गति लिन्छ । नत्र स्थिति झन् बिग्रेर जान्छ ।
धन्यवाद ! जय इटहरी !!
रुपेश बस्नेत, अध्यक्ष, नेकपा एमाले इटहरी उपमहानगरनगर कमिटि


