इटहरी । सुनसरीमा असहायको सहारा बनिरहेको माया घर नेपाललाई विभिन्न दाताहरुद्धारा विद्युतीय इ रिक्सा सहित खाद्यान्न र लत्ता कपडा प्रदान गरिएको छ । सोमबार इटहरी २ हवाई चौक स्थित संस्थाको कार्यालयमा आयोजना गरिएको कार्यक्रमबीच विभिन्न दाताहरुले सहयोग प्रदान गर्नुभएको हो । कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी ईश्वर कार्कीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा इटहरीका व्यवसायी तथा बजाज सोरूमका सञ्चालक प्रदीप कुमार सन्थलीयाले विपदको बेला बिरामी बोक्न, मानव उद्धार तथा पुनः स्थापनामा टेवा पु¥याउने उद्देश्यका साथ तिन चक्के विद्युतीय इ रिक्सा प्रदान गर्नुभयो । सन्थलीयाले इ रिक्सा सहित लता कपडा, खाद्यान्न समेत प्रदान गर्नुभएको थियो । त्यस्तै कोशी प्रदेश प्रहरी प्रमुख कार्की, जिल्ला प्रहरी कार्यालय सुनसरी प्रमुख एसपी सुमन कुमार तिम्सिना, इलाका प्रहरी कार्यालय इटहरी प्रमुख डिएसपी लक्ष्मी भण्डारीले खाद्यान्न र लता कपडा वितरण गर्नुभयो । डिआइजी कार्कीले माया घरको बारेमा चर्चा निकै सुने पनि प्रत्यक्ष देखेर सहयोग गर्न पाउँदा आफूलाई भाग्यमानी ठानेको बताउनु हँदै परि आएको खण्डमा व्यक्तिगत रूपमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जाहेर गनुभयो । त्यस्तै, एसपी तिम्सिनाले माया घरमा आश्रित शिक्षित वर्गलाई लक्षित गर्दै प्रहरीको तर्फबाट सेनेटरी प्याड बनाउने तालिम दिने घोषणा गर्नुभयो । त्यस्तै कार्यक्रममा शिल्पा अग्रवाल र प्रविण अग्रवालले पनि माया घरलाई लत्ता कपडा वितरण गर्नुभएको थियो । सहयोगी हातहरू प्रति धन्यवाद प्रकट गर्दै माया घरकी अध्यक्ष सुभद्रा प्याकुरेलले दाताहरूकै भरमा संस्था सञ्चालन हुँदै आएको उल्लेख गर्नुभयो । माया घरमा हाल १ सय ३७ जना बेसहारा, अशक्त महिलाले आश्रय लिँदै आएको प्याकुरेलले जानकारी दिनुभयो ।


