इटहरी । संखुवासभाको मादी नगरपालिकामा निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर हुने भएको छ । मादी नगरपालिका तथा नेत्र जोति संघ, तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदवारीको संयुक्त आयोजनामा मोति बिन्दु भएका बिरामीहरूका लागि निःशुल्क मोतिबिन्दु शल्यक्रिया सेवा सञ्चालन हुने भएको हो । मादी नगर अस्पतालमा जेष्ठ ८ र ९ गते मेची आँखा अस्पताल, बिर्तामोडका निर्देशक तथा वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. पुरुषोत्तम जोशीको नेतृत्वमा रहेको प्राविधिक टोलीद्वारा शल्यक्रिया सेवा सञ्चालन गर्ने मादी नगरपालिकाका नगरप्रमुख जिवन लिङ्थेपले बताउदै, आँखाको समस्याबाट पीडित नगरवासीलाई मध्यनजर गर्दै निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर आयोजना गरिने जानकारी दिनुभएको छ । नगर प्रमुख लिङ्थेपले सम्पूर्ण नगरवासीलाई शिविरमा सहभागी भई सेवा लिन अनुरोध गर्नुभयो । मोतिबिन्दु शल्यक्रियासँगै सामान्य आँखा परीक्षण, निःशुल्क औषधि वितरण, चस्मा वितरण र नेत्रसम्बन्धी परामर्श सेवा पनि प्रदान गरिनेछ । शल्यक्रिया गराउने बिरामीले एक रातको लागि बसोबासको व्यवस्था, खाना तथा यातायात खर्च आफैंले बेहोर्नु पर्नेछ साथै प्रत्येक बिरामीसँग एक जना कुरुवा अनिवार्य रूपमा साथमा हुनुपर्नेछ भने अन्य सबै सेवा निःशुल्क रहने मादी नगरपालिकाका स्वास्थ शाखा प्रमुख पोषराज श्रेष्ठले जानकारी दिनुभयो । नगरपालिकाले शिविरमार्फत नगरभित्रका दृष्टि गुमाउँदै गएका नागरिकहरूलाई गुणस्तरीय र पहुँचयोग्य स्वास्थ्य सेवा प्रदान गर्दै उनीहरूको जीवनमा उज्यालो फर्काउने लक्ष्य लिएको छ ।


