इटहरीे । चलचित्र पत्रकार संघ नेपालको २६ औँ वार्षिकोत्सवको अवसरमा राष्ट्रिय चलचित्र पत्रकारिता दिवस तथा दोस्रो राष्ट्रिय भेला इलामको  पर्यटकीय स्थल अन्तुमा सुरु भएको छ । चलचित्र क्षेत्रको विकास, विस्तार , चलचित्र पर्यटन प्रवद्र्धन सहित  चलचित्र र पत्रकारिताको भूमिका लगायतका विषयमा मन्थन गर्दै चलचित्र पत्रकार संघ नेपालको २६ औँ वार्षिकोत्सवको अवसरमा राष्ट्रिय चलचित्र पत्रकारिता दिवस तथा दोस्रो राष्ट्रिय भेला सुरु भएको हो ।  तीन दिनसम्म चल्ने भेलाको पहिलो दिन बुधबार ‘मिडिया मन्थन’ तथा ‘विधागत पत्रकारिता’का विषयमा विशेष छलफल गरिएको छ। कार्यक्रममा नेपाली चलचित्रको वर्तमान अवस्थाबारे समेत व्यापक बहस गरिएको छ। छलफल सत्रमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले नेपाली चलचित्र उद्योगका समसामयिक चुनौती र सम्भावनाबारे आफ्नो धारणा राख्नुभयो । त्यसैगरी, मिडिया मन्थनमा नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल, प्रेस सेन्टर नेपालका अध्यक्ष कमल गिरीलगायतले सञ्चार माध्यमको भूमिका, जिम्मेवारी र चलचित्र पत्रकारिताको वर्तमान अवस्था सम्बन्धी धारणा व्यक्त गर्नुभएको छ। भेलाको दोस्रो दिन बिहीबार ‘सिनेमा संवाद’ र ‘सिनेमा पर्यटन’का विषयमा कार्यशाला आयोजना गरिने चलचित्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष समिर बलम्पाकीले जानकारी दिनुभयो ।   समारोहमा चलचित्रकर्मी मिथिला शर्मा, गौरी मल्ल, शिव श्रेष्ठसहित दर्जनौं कलाकारको सहभागिता रहेको छ। कार्यक्रममा निर्माता संघसहित चलचित्र क्षेत्रका बिभिन्न निकायको सहभागीता रहेको छ । कार्यक्रममा चलचित्र क्षेत्रका योगदान गर्ने व्यक्तित्वलाई सम्मान तथा पुरस्कृत समेत गर्ने कार्यक्रम  छ । कार्यक्रममा चलचित्र बिकास बोर्डका अध्यक्ष डिसीले नेपाली चलचित्रलाई पर्यटन संघ जोड्का लागि अन्तुमा कार्यक्रम गरिएको जानकारी दिनुभयो। उहाँले नेपाली चलचित्रको विकास र प्रवद्र्धनका लागि बोर्डले अनलाइन प्रविधिमा काम गर्ने तयारी गरिरहेको जानकारी दिनुभयो।