इटहरी । भोजपुर–संखुवासभालाई जोड्ने अरुण नदीको सतिघाटमा पक्की पुल बन्न नसक्दा सर्वसाधारणहरु सास्ती भोग्न बाध्य भएका छन् । उत्तरी क्षेत्रबाट अन्य जिल्ला प्रवेश गर्ने मुख्य नाकाका रुपमा रहेको सतिघाटमा पक्की पुल नहुँदा सर्वसाधारणहरु सास्ती भोग्न बाध्य भएका हुन् । भोजपुरको उत्तरी क्षेत्रलाई तराईसँग सिधा जोड्ने भोजपुरको षडानन्द नगरपालिका वडा नं ६ र खाँदबारी नगरपालिका वडा नं ९ सतिघाटस्थित अरुण नदीमा पक्की पुल नहुदा वैकल्पिक उपायको रुपमा फेरी सञ्चालन गरिए पनि हावाहुरी तथा पानीको बहाव बढेसँगै फेरी बन्द हुने गरेको छ । अहिले पनि पानीको बहाव बढेपछि पूर्ण रुपमा फेरी बन्द भएको छ । जसका कारण झोलुङ्गे पुलबाट नै आवतजावत सँगै पिँठ्यूमा बोकेर सामान ओसार्नुपर्ने बाध्यात्मक अवस्था रहेको भोजपुर षडानन्द नगरपालिका–४ स्थीत सारदा आधारभूत विद्यालयका प्रधानाध्यापक मधुसुदन भट्टराईले बताउनुभयो । सो क्षेत्रबाट चूनाव जितेर पटक पटक राजनीतिक दलका नेता सत्तामा पुगेपनि सतिघाटमा पक्की पुल निर्माणमा चासो नदेखाउदा आफुहरु समस्यामा परेको उहाले बताउनुभयो । फेरी बन्द हुँदा सवारी साधनहरु नदीको किनारमा नै रोकिने गरेको छ । सतिघाटमा पक्की पुल निर्माणको लागि राज्यले ध्यान दिन नसकेको भोजपुरबासी कल्पना बस्नेतले बताउनुभयो । उहाले पुल नहुदा बोकेर सामान ओसार पसार गर्नुपर्दा महङ्गी बढेको र भनेको समयमा पनि पुग्न नसकिएको गुनासो गर्नुभयो । अरुण नदीमा पुल नहुँदा सामान ओसारनका लागि भरियाको भर पर्नुपरेको छ । भरियाले प्रतिकिलो डेड रुपैयाका दरले भारी बोक्दै आएका छन् । फेरीले केहि समय नदी तर्ने समस्या समाधान गरेपनि स्थायी समस्याको समाधानका लागि पक्की पुल बन्नुपर्ने स्थानीयहरुको माग छ । स्थानीय सरकारले पक्की पुल निर्माणको लागि पहल गरेपनि बन्न भने नसकेको जनाएको छ ।


