इटहरी | नेपाल तरुण दल प्रतिनिधिसभा क्षेत्रीय कार्य समिति, सुनसरी क्षेत्र नं. ३ अन्तर्गतको पाँचौँ अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। राजनीतिक चेतना र संगठन विस्तारको दृष्टिकोणले महत्त्वपूर्ण मानिएको उक्त अधिवेशनले प्रतिनिधिसभा क्षेत्र नं. ३ सहित प्रदेश सभा ३ (क) र ३ (ख) का कार्यसमितिहरू समेत गठन गर्दै संगठनलाई नयाँ उत्साहसाथ अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।

कार्यक्रमको उद्घाटन नेपाल तरुण दल क्षेत्र नं. ३ का अध्यक्ष विकास राज भण्डारीको अध्यक्षता तथा नेपाली कांग्रेस सुनसरी जिल्ला सभापति तथा इनरुवा नगरपालिकाका मेयर केदार भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। प्रमुख अतिथि भण्डारीले लोकतन्त्रमा राजनीतिक दलहरूको भूमिकालाई अत्यन्तै महत्त्वपूर्ण बताउँदै, नवगठित कार्यसमिति सक्षम, प्रतिबद्ध र लक्ष्यप्रति समर्पित रहेको विश्वास व्यक्त गर्नुभयो।

अधिवेशनले प्रतिनिधिसभा क्षेत्र नं. ३ को नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरेको छ। देवराज चौधरी, उपसभापतिमा अनिश राज भण्डारी र सचिवमा सुजन पाण्डे चयन भएका छन्। 

यस्तै, प्रदेश सभा ३ (क) अन्तर्गत सभापतिमा पर्शुराम चौधरी, उपसभापतिमा नजाम हुसेन र सेमन्त रोय तथा सचिवमा टंक बहादुर कार्की चयन भएका छन्। प्रदेश सभा ३ (ख) अन्तर्गत सभापतिमा सुनिल कुमार चौधरी, उपसभापतिमा पंकज कुमार हलवाई र सचिवमा दिलिप राई चयन भएका छन्। साथै कोषाध्यक्ष र अन्य पदाधिकारीहरू समेत सर्वसम्मत रूपमै चयन गरिएको हो।

कार्यक्रमका संयोजक नेपाल तरुण दलका सक्रिय प्रतिनिधि ओम गौतमले सम्पूर्ण व्यवस्थापन सम्हाल्नु भएको थियो। कार्यक्रमलाई प्रभावशाली बनाउने उद्देश्यले विविध वक्ताहरूले विचार व्यक्त गरेका थिए।

नेपाल तरुण दल सुनसरीका सभापति तथा नेपाली कांग्रेस प्रदेश नं. १ का सदस्य सिजन गुरुङले संगठनले अहिलेको नेतृत्वमार्फत उत्कृष्ट नतिजा ल्याउने विश्वास व्यक्त गर्दै युवाहरूको ऊर्जालाई रचनात्मक ढंगले उपयोग गर्न आवश्यक रहेको बताए। उनले संगठनात्मक एकता, अनुशासन र सशक्तिकरणमा विशेष जोड दिए।

कार्यक्रममा नेपाल तरुण दल सुनसरीका प्रवक्ता सरोज गुराईगाई, नेपाली कांग्रेस ३ (क) का सभापति दीपक ढकाल, नेपाली कांग्रेस दुहबी नगरका सभापति तथा दुहबी नगरपालिकाका मेयर बेद नारायण गच्छदार, दुहबी नगरपालिकाकी उपप्रमुख तथा कांग्रेस दुहबीकी उपसभापति मेनुका पोखरेल खतिवडालगायत विभिन्न तहका नेताहरू, कार्यकर्ता, युवाहरू, महिला अगुवा, तथा भातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।1747836785748

कार्यक्रममा उपस्थित वक्ताहरूले नेपालको लोकतान्त्रिक प्रणालीलाई मजबुत पार्न युवाको भूमिका निर्णायक हुनेमा जोड दिएका थिए। उनीहरूले नेपाली कांग्रेसलाई सशक्त बनाउने दिशामा नेपाल तरुण दलले अग्रणी भूमिका खेल्नुपर्ने आवश्यकता औंल्याउँदै नवगठित नेतृत्वलाई शुभकामना प्रकट गरेका थिए।

यस अधिवेशनलाई संगठन निर्माण, युवा नेतृत्वको सुदृढीकरण र लोकतान्त्रिक मूल्यप्रति प्रतिबद्धता जनाउने अवसरको रूपमा लिइएको थियो। सहभागिता, एकता र नवीन सोचले भरिएको अधिवेशनले संगठनभित्र सकारात्मक ऊर्जा थपेको अनुभूति गरिएको छ।1747836775490