इटहरी । दुई पटक बाढीले पुल बगाएको मेची राजमार्ग अन्तर्गत पाँचथरको हेवाखोलामा पुनः जडान हुने बेलिब्रिजका पार्टपुर्जा जडान स्थलमा ल्याइपु(याइएको छ । पछिल्लो पटक गत असोज १२ गते आएको बाढीले त्यहाँ निर्मित बेलिब्रिज बगाएपछि सडक डिभिजन इलाममार्फत पुनः जडानको प्रव्रिmया अगाडि बढाइएको हो । बेलिब्रिज जडानका लागि संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । बेलिब्रिजका आधारका लागि फिदिम नगरपालिकातर्फ दुई हजार छ सय घनमिटर ग्याबिङ पर्खाल र चार सय घनमिटर पक्की पर्खाल निर्माण भइसकेको छ । फिदिमतर्फ पहुँच सडकको काम पनि पूर्ण भएको सडक डिभिजन इलामका इन्जिनियर सीताराम गौतमले जानकारी दिनुभयो ।

खोलापारि हिलिहाङ गाउँपालिकातर्फ ट्र्याक खोल्ने काम सकिएकोे छ भने बेस ढलान गरिँदै छ । बेलिब्रिज जडान, बेस निर्माण र पहुँच सडक निर्माणको सबै काम गर्न सडक डिभिजन इलामसँग दोभान–सुपर सौगात–लाइट बिल्डर्स जेभी नामक निर्माण कम्पनीले सम्झौता गरेर काम गरिरहेको छ । निर्माण कम्पनीका प्रतिनिधि पवन भट्टराईका अनुसार बेलिब्रिजको सुरक्षाका लागि फिदिमतर्फ पर्खालभन्दा तल ‘ड्रिल’ गरेर खोलाको सतहसम्म एक सय वटा फलामे पाइप गाडिएको छ । उहाँले बेलिब्रिज जडानका लागि आवश्यक पर्ने पार्टपुर्जा ढुवानी भइसकेको बताउनुभयो । यहाँको पक्की पुल पहिलो पटक २०८० असार २ गतेको बाढीले पक्की पुल बगाएको थियो । त्यसपछि २९ दिन लगाएर निर्माण गरिएको बेलिब्रिज पुनः २०८१ असोज १२ गतेको बाढीले बगाएपछि यहाँ सङ्घीय सरकारले दोस्रो पटक बेलिब्रिज जडान गर्ने प्रक्रिया अगाडि बढाएको हो । बेलिब्रिज बगेपछि हाल हेवाखोलामा ह्युमपाइपबाट पानी पठाएर डाइभर्सन सवारी र ढुवानी साधन आवागमन गरिँदै छ ।

यहाँ बेलिब्रिज जडान गर्न सडक डिभिजन कार्यालय इलामसँग बेलिब्रिज ढुवानी, संरचना निर्माण, पहुँचमार्ग निर्माण तथा जडानको ठेक्का दोभान–सुपर सौगात–लाइट बिल्डर्स जेभीसँग सम्झौता गरी काम अगाडि बढाएको छ । सबै कामका लागि तीन करोड ४९ लाख रुपियाँमा ठेक्का सम्झौता भएको सडक डिभिजन इलामले जनाएको छ । सडक डिभिजन इलामका इन्जिनियर सीताराम गौतमका अनुसार हेवामा जडान हुने बेलिब्रिजको लम्बाइ ७० मिटर रहने छ । यो नेपालमा हालसम्म जडान भएकामध्ये सबैभन्दा लामो बेलिब्रिज हो । हेवाखोलामा बेलिब्रिज जडानको काम सकिएपछि मेची राजमार्ग हुँदै झापाबाट इलाम–पाँचथर–ताप्लेजुङ आवागमन र उपभोग्य वस्तु ढुवानी सहज हुने छ ।