इटहरी | इटहरीको रात्री जीवन, सांस्कृतिक वातावरण र पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने लक्ष्य सहित फ्लेयर बारटेन्डिङको दोस्रो संस्करण इस्टर्न क्राफ्ट एन्ड फ्लेयर सिरिज आगामी असार ५ र ६ गते इटहरीस्थित रोयल रिसोर्टमा आयोजना हुने भएको छ ।
इलाइट बारटेन्डिङ एकेडेमी इटहरी र स्ट्रिक्ट्ली फ्लेयर प्रा.लि.काठमाडौंको सहकार्यमा आयोजना हुने प्रतियोगितामा नेपालभरिका फ्लेयर बारटेन्डरहरूले आफ्नो सीप, सृजनशीलता र प्रस्तुतीकरण प्रदर्शन गर्नेछन् । प्रतियोगितामा अडिसन, प्रिलिमिनरी र फाइनल चरण रहनेछन्, जसको मुल्याङ्कन अन्तर्राष्ट्रिय स्तरका निर्णायकहरूले गर्नेछन् ।
प्रतियोगितामा उत्कृष्ट बारटेन्डरलाई प्रथम पुरस्कारका रूपमा नगद ५० हजार रुपैयाँ , दोस्रो पुरस्कार ३० हजार, तेस्रो पुरस्कार २० हजार सहित ट्रफी र सम्मान पत्र प्रदान गरिनेछ । साथै, ‘वेष्ट ककटेल’ र ‘वेष्ट मुभ’ विधामा पनि जनही रु १० हजारका दरले पुरस्कार प्रदान गरिनेछ ।
नेपालभरिका बारटेन्डरहरूलाई प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नु, फ्लेयर बारटेन्डिङलाई एक कला र पेशाको रूपमा स्थापित गर्नु, पूर्वी नेपालको सांस्कृतिक र नाइट लाइफलाई प्रवद्र्धन गर्दै सक्रिय र सशक्त बारटेन्डिङ समुदाय निर्माण गर्नु प्रतियोगिताको उदेश्य रहेको इलाइट बारटेन्डिङ एकेडेमी इटहरीका सञ्चालक भिम राना मगरले बताउनुभयो ।
त्यस्तै कार्यक्रममा कोशी प्रदेशसँगै काठमाडौँ लगायत नेपालका विभिन्न स्थानबाट साथै भारत, श्रीलङ्काबाट समेत यस पेशाका प्रतिष्ठित प्रतिस्पर्धीहरु आउने स्ट्रिक्ट्ली फ्लेयर प्रा.लि.का सञ्चालक राम प्रसाद गौतमले जानकारी दिनुभयो । यस पटक प्रतिस्पर्धाको स्तर, सहभागीको संख्या, दर्शकहरूको उत्साह अझ उल्लेखनीय हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।
इलाइट बारटेन्डिङ एकेडेमीले इटहरीमा तीन वर्षदेखि बारटेन्डिङ तालिम सञ्चालन गर्दै आएको छ भने स्ट्रिक्ट्ली फ्लेयर प्रा.लि.ले काठमाडौँबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रशिक्षण दिँदै आएको छ । प्रतियोगिताको अघिल्लो संस्करण २०२४ मा सम्पन्न भएको थियो, जसमा ५० भन्दा बढी बारटेन्डरको सहभागिता रहेको थियो ।