इटहरी । दिनप्रतिदिन बढ्दै गएको लागू औषध दुर्व्यसनको समस्यालाई नियन्त्रण गर्न स्थानीय स्काउट कार्यालय, इटहरीले “लागू पदार्थ दुर्व्यसन मुक्त वडा” अभियान सञ्चालन गरेको छ। स्काउट कार्यालयका प्रमुख आयुक्त वेणु प्रसाद सिटौलाका अनुसार लागू औषधको दुर्व्यसनले केवल एक व्यक्तिलाई मात्र नभई त्यसको परिवार, समाज हुँदै राष्ट्रसम्म असर पार्ने भएकाले समुदायस्तरबाटै यस्तो अभियान सुरु गरिएको हो । अभियान अन्तर्गत वडास्तरीय जनप्रतिनिधिसँग अन्तरक्रिया कार्यक्रमहरू सञ्चालन गरिनुका साथै विभिन्न क्षेत्रमा पुगेर सचेतनामूलक कार्यक्रमहरू आयोजना गरिएको सिटौलाले जानकारी दिनुभयो। अभियान समापन कार्यक्रममा सुरक्षा निकायका प्रतिनिधि, लागू औषध विरुद्ध काम गरिरहेका अभियन्ता, विभिन्न विद्यालयका शिक्षक–विद्यार्थी तथा सरोकारवाला निकायको उल्लेख्य उपस्थिति रहेको थियो। यस अभियानमार्फत लागू औषध विरुद्धको चेतना विस्तार गर्दै इटहरीका वडाहरूलाई लागू औषध दुर्व्यसनमुक्त बनाउने लक्ष्य लिएको बताइएको छ ।


